कांग्रेस बैठकमा ओझेलमा परेका दुई मुद्दा

सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर देखिएनन् कांग्रेस नेता

सन्तोष अधिकारी ४ साउन २०८० १५:३९
24
SHARES
सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर देखिएनन् कांग्रेस नेता फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू जल्दाबल्दा राष्ट्रिय मुद्दामा मौन देखिएका छन्। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा नेताहरू सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता नागरिकका तत्कालीन चासोका विषयमा गम्भीर नदेखिएका हुन्।

१० महिनापछि मंगलबार सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू बोल्ने क्रम जारी छ। बैठकमा पार्टीमा रहेको गुटबन्दी छताछु्ल्ल भएको छ। केही नेताहरूले सभापति शेरबहादुर देउवालाई आड दिने अभिव्यक्ति दिइरहेका छन् भने केहीले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको बचाउमा सीमित भइरहेका छन्। अधिकांशले महामन्त्री थापाले पेस गरेको क्यालेन्डरको प्रश‌ंसा गरे पनि त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने मार्गचित्र दिन सकेका छैनन्।

नेताहरू पार्टी सरकारमा रहेको बारेमा उत्साहित त देखिएका छन् तर सरकारमा बसेका बेला जनताका अपेक्षा पूरा गर्न केकस्ता प्रयास भइरहेका छन् भन्ने विषयमा भने केही बोल्दैनन्। संघमा महत्त्वपूर्ण मन्त्रालयसहित नेपाली कांग्रेस सरकारमा छ। यस्तै सात प्रदेशमध्ये कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सरकार कांग्रेस नेतृत्वमा छ। स्थानीय तहको सरकारमा पनि कांग्रेसको बलियो उपस्थिति छ।

नेताहरू प्रदेशमा पार्टी नेतृत्वमै सरकार रहेको, स्थानीय तहको प्रतिनिधित्वमा पार्टीको बलियो उपस्थिति रहेको बताउँछन्। तर सरकारमा पार्टीको भूमिकाबारे भने बोल्नै चाहेका छैनन्। साथै २०८४ सालमा कांग्रेस पार्टीलाई पहिलो बनाउने केकस्तो रणनीति अवलम्बन गर्नुपर्छ भन्ने विषयमा नेताहरूसँग कुनै तयारी देखिँदैन।

बैठकमा कतिपय नेताबीच प्रदेश सरकारकै विषयमा पार्टीभित्र रहेको विवाद छताछुल्ल भएको छ। बुधबार सम्बोधन गरेका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेतृत्वको कडा आलोचना गरेका थिए। पार्टी मनोमानी ढंगमा चलिरहेको उनको आरोप थियो।

बिहीबारको बैठकमा कोशीका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य उद्धव थापाले बुढाथोकीको अभिव्यक्तिको खण्डनमा उत्रिए। बुढाथोकीले प्रदेश १ को नामकरणमा पार्टीले कुनै भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि पोखेका थिए। नामकरणमा केपी ओलीको प्रस्ताव सदर गरिएको उनको भनाइ थियो। थापाले भने पार्टी र सरकारको आलोचना गरेको भन्दै बुढाथोकीलाई एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री मान्न चुनौती दिए।

नेताहरूबीच देखिएको विवादको यो एउटा उदाहरण मात्रै हो। नेतृत्वमाथि औँला ठड्याउनु, चुनावमा भएका अन्तरघातमा एउटाले अर्कामाथि हिलो छ्याप्नु र आफ्नो गुट सही तर अर्को गुट अर्घेलो देख्नु अधिकांश केन्द्रीय सदस्यको विशेषता देखिन्छ।

यस क्रममा केहीले सभापति देउवाको आलोचना गरेका छन् भने केहीचाहिँ महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि खुलेरै विरोधमा उत्रिएका छन्। केही केन्द्रीय सदस्यले भने पार्टी चरम गुटबन्दीमा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

गण्डकीका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र अर्की केन्द्रीय सदस्य उर्मिला नेपाल केसीले महामन्त्री थापाको खुलेरै विरोध गरे। दुवै नेताहरूको विरोध महामन्त्री थापा लक्षित थियो। थापाले पार्टी संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। केन्द्रीय सदस्यद्वय पाण्डे र केसीले महामन्त्री थापाको उक्त अभिव्यक्तिको विरोध गरेका हुन्।

पाण्डेले भने, ‘पार्टीको बारेमा नै नकारात्मक भ्रम फैलाउने काम पार्टीका नेताहरूबाट नहोस्। जेजे भए पनि हामी सबै एकै डुंगामा छौँ, डुब्दा सबै एकैपटक डुब्छौँ। शेरबहादुर देउवा डुबे गगन थापा पनि डुब्नुहुन्छ, म सुरेन्द्र पाण्डे पनि डुब्छु।’

केन्द्रीय सदस्य उर्मिला नेपाल केसीले नेतृत्व परिवर्तनको कुरा बेमौसमको बाजा भएको टिप्पणी गरिन्। उनले महाधिवेशन सकिएको धेरै समय नै नभएकाले सभापति देउवालाई काम गर्न दिनुपर्ने बताइन्। उनले भनिन्, ‘जसलाई नेतृत्व सुम्पेको छौँ, विधानअनुसार सभापति चयन गरेको छौँ, उहाँलाई काम गर्न दिनुपर्छ।’

केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले बिहीबारको बैठकमा भने, ‘पार्टीभित्र चरम गुटबन्दी छ। ८ लाख ६६ हजार कार्यकर्ताका लागि मात्रै राजनीति गरिरहेका छौँ कि अरू जनताबारेमा पनि सोचेका छौँ।?’

अर्का केन्द्रीय सदस्य राजीवविक्रम शाहले आफैँ गुटको सिकार हुनुपरेको बताए। उनले भने, ‘कम्युनिस्ट पार्टीको गढ मानिएको जिल्लाबाट दुईदुई पल्ट म निर्वाचित भएको छु। एकपल्ट संघमा र एकपल्ट प्रदेशमा। तर पनि म लगातार गुटको सिकार हुनुपरेको छ।’

यस्तै चुनावमा भएको अन्तरघातलाई लिएर नेताहरूबीच आरोपप्रत्यारोप हुने गरेको छ। महँगी र भ्रष्टाचारका विषयमा पनि नेताहरूको ध्यान गएको देखिएन। बरु भ्रष्टाचारमा मुछिएका नेताहरूको बचाउमा नेताहरू सक्रिय छन्।

खाणको बचाउ र विरोध

केन्द्रीय सदस्य राधा घलेले नक्कली शरणार्थी प्रकरणमा मुछिएर जेलमा रहेका बालकृष्ण खाणको बचाउमा गरिन्। उनले बुधबारको बैठकमा भनेकी थिइन्, ‘आज एउटा नेतालाई, साथीलाई बिनाकारण समातेर लग्दै गर्दा आफ्नै पार्टीको साथीहरू संवेदनशील नहुनु, गृहमन्त्रीलाई बधाई दिन जानु कति उपयुक्त हुन्छरु’उनले पार्टीकै एक नेतालाई दु:ख पर्दा साथ दिन नसक्ने हो भने भोलि आफूलाई पर्दा सहयोग नपाइने कुरा सम्झिन पनि आग्रह गरिन्। अन्य नेताहरूले पनि शरणार्थी प्रकरणमा मुछिएका खाणबारे खुलेर बोल्न सकेका छैनन्।

पूर्वगृहमन्त्रीसमेत रहेका खाण पार्टीका केन्द्रीय सदस्य हुन्। अदालतले उनलाई जेलचलान गर्दा पनि पार्टीले उनीमाथि कुनै कारबाही गरेको छैन। नागरिक स्तरबाट खाणलाई पार्टीबाट निलम्बन हुनुपर्ने माग उठिरहेको छ। तर उनलाई कारबाही गर्नुपर्ने आवाज केन्द्रीय कमिटी बैठकमा उठ्न सकेको छैन। ललिता निवास प्रकरणका बारेमा पनि नेताहरू मौन छन्। त्यसो त कांग्रेस आफ्ना नेता मुछिएको प्रायजसो भ्रष्टाचारका काण्डबारे मौन नै बस्दै आएको परम्परा पनि छ।

खाण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका व्यक्ति हुन्। उनलाई कारबाही गर्ने नगर्ने विषयमा कांग्रेस विभाजित छ। बिहीबारको बैठकमा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणबारे पार्टी बैठकले ठोस निर्णय लिन माग गरे। उनले बिहीबारको बैठकमा भने, ‘कांग्रेस अहिले प्रचण्ड नेतृत्वको सरकारमा छ। यही सरकारले हाम्रा एकजना वरिष्ठ नेता बालकृष्ण खाणलाई थुनामा पठाएको छ। नक्कली शरणार्थी प्रकरणमा बालकृष्णलाई अन्याय भएको हो भने कांग्रेस तत्काल सरकारबाट हट्नुपर्छ, होइन भने बालकृष्णलाई निलम्बन गरियोस्।’

त्यस्तै बुधबारको बैठकमा मनोनीत केन्द्रीय सदस्य लक्ष्मी खतिवडा खाणको बचाउमा उत्रिएकी थिइन्। उनले भनेकी थिइन्, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ। किन, के कारणले धन्यवाद दिन पुग्नुभयो? थाहा छैन।’

त्यस्तै, अभियोग लागेको अर्को अमूक पार्टीको नेताका बारेमा भने उनीहरू नबोलेको खतिवडाको दाबी छ। पार्टीभित्रको फरक समूहको नेता भएका कारणले गृहमन्त्रीलाई धन्यवाद दिन गएको हुन सक्ने उनले बताइन्। ‘तातो पानीले भरिएको डेक्चीको पानी खनिँदा सबैलाई पोल्छ, त्यो पनि विचार पुर्‍याउनु होला’उनको भनाइ थियो। नक्कली शर‌णार्थी प्रकरणमै जोडिएमा एमालेका सचिव टोपबहादुर रायमाझी निलम्बनमा परिसकेका छन्।

अर्का नारायणबहादुर कार्कीले पनि कांग्रेसका नेताहरूलाई केही मान्छेले गाली गरिरहँदा काखी बजाउने काम भएको भन्दै आपत्ति जनाए। उनले को नेता कहिले अप्ठ्यारोमा पर्छ थाहा नभएको भन्दै काखी नबजाउन आग्रह गर्दै भने ‘आज एउटा नेता सकिँदा भोलि अर्को नेताको पालो आउँछ। त्यतिबेला पनि काखी बजाउने गर्‍यौँ भने सबै नेता सकिन्छन्। अनि हामी कार्यकर्ता कसरी जोगिन्छौँ?’त्यसो त पार्टीको पदाधिकारी बैठकले तय गरेका प्रमुख १० एजेन्डामा पनि सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणका विषय समावेश छैन।

११ महिनापछि बसेको जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम जारी छ।

प्रकाशित: ४ साउन २०८० १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =