काठमाडौँ– व्यवसायी दीपक मलहोत्राले आजसम्म कुनै पनि गैरकानुनी काम नगरेको बताएका छन्।
बुधबार राजस्व अनुसन्धान विभागले बरामद गरेको ठूलो परिमाणको सुनमा मलहोत्राको समेत संलग्नताको आरोप लागेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
मलहोत्राले बाहिर आएका समाचार र लगाइएको आरोपमा कुनै सत्यता नभएको र यी सबै कपोकल्पित भएको बताए।
‘हिजो भन्सार जाँचपास भएर आएको सुनमा मेरो संलग्नता छैन। मैले आजसम्म एउटा पनि गैरकानुनी गरेको छैन,’ उनले भने, ‘म र मेरो परिवार जोडिएको सबै व्यापारिक प्रतिष्ठान कानुन बमोजिम छन्। पारदर्शी छन्। हामीले प्रचलित कानुन बमोजिम आय विवरण सरकारी नियकामा पेस गर्दै आएका छौँ।’
सुन तस्करीको आरोपमा समातिएका व्यक्तिसँग आफ्नो कारोबार मात्रै नभएर चिनजानसमेत नभएको मलहोत्राले बताएका छन्।
बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको अवैध सुन राजस्व अनुसन्धानको टोलीले सिनामंगलबाट बरामद गरेको थियो।