बागलुङ– बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले औषधि र खोप पठाएको हो।
२ हजार ९ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए।
केन्द्रले बागलुङ नगरपालिकाका लागि ५ सय पशुलाई पुग्ने खोप पठाएको छ।
लम्पी स्किनबाट बागलुङमा १ सय ६६ गाईको मृत्यु भएको छ। लम्पी स्किन लागेका गाई गोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा १ सय ४ डिग्रीभन्दा बढी ज्वरो आउने हुन्छ।
फार्म नै सञ्चालन गरेका किसानका गाईगोरु यस रोगबाट बढी बिरामी भएको पाइएको छ।
वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलो पटक लम्पी स्किनको संक्रमण देखिएको थियो। त्यसपछि क्रमशः अन्यत्र फैलिएको सापकोटाले बताए।
पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ। मृत्यु भएका पशुको कारण किसानले लाखौँ क्षति व्यहोरेका छन्। ढोरपाटन नगरपालिकाका १ हजार २ सय गाईगोरु यसबाट बिरामी छन्।
निसीखोलामा ५ सय १३, गलकोट नगरपालिकामा १ सय ४२, बडिगाड गाउँपालिकामा १ सय ८१ र तमानखोलामा १ सय ८९ गाई बिरामी परेका छन्।
बागलुङ नगरपालिकामा पनि २ सय २१ गाईमा पनि लम्पी स्किन देखिएको छ।
संक्रमण बढेपछि स्थानीय तहले खोप किनेर लगाएका थिए। भेटेरिनरी अस्पतालले ४ हजार ५ सय डोज खोप पालिका तहमा पठाएको सापकोटाले बताए।
सबैभन्दा धेरै संक्रमण देखिएको ढोरपाटनमा प्राविधिकको अभावमा खोप लगाउन नसकिएको उनले बताए।
किर्ना, डाँस, भुसुना र लामखुट्टेबाट पशुमा यो रोग संक्रमण फैलिने तथा गोठ फोहोर हुँदा पनि संक्रमण बढी हुने गरेको पाइएको छ।