काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक झन्डै एकवर्षपछि आज मंगलबार सुरु भएको छ। बैठकमा सभापति महामन्त्री गगनकुमार थापाले पार्टीको कार्यक्रम रहेको वार्षिक क्यालेन्डर प्रस्ताव गरे भने चुनावी प्रतिवेदन पूर्वउपसभापति गोपालमान श्रेष्ठले प्रस्तुत गरे। अब बैठक बुधबार बिहान बस्नेछ।
आजको बैठक सकिएपछि बाहिरनेक्रममा केन्द्रीय सदस्यसमेत रहेकी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले अर्का केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीलाई धम्क्याएकी छन्। पार्टी कार्यालयको बैठकस्थलबाट नेताहरू बाहिरिनेक्रममा सिवाकोटीलाई आरजुले नै सुरुमा बोलाएकी थिइन्। सिवाकोटी आरजु नजिकै पुगे।
अनि आरजुले उनलाई सोधिन्- बाहिर त केके बोल्दै हिँड्नु भएको छ त? सिवाकोटीले भने- के बोलेँ र के भयो? आरजु- बाहिर के के बोलेको सबै मलाई थाहा छ। म देखाइदिन्छु याद गर्नुस् नि! आरजुले चेतावनी दिएपछि सिवाकोटीले थप केही प्रश्न गर्न नपाउँदै नजिकै रहेका अर्का केन्द्रीय सदस्य उमेशजंग रायमाझीले सिवाकोटीलाई तानेर बाहिर लगेका थिए।
आरजुले सिवाकोटीलाई नक्कली शरणार्थीबारे प्रकरणबारे दिँदै आएको अभिव्यक्तिप्रति चेतावनी दिएको बताइएको छ। सिवाकोटीले नक्कली शरणार्थी प्रकरणमा दोषी उम्किन नहुने र निर्दोष फस्न नहुने साथै दोषी देखिए जो कसैलाई पनि कारबाही गर्नुपर्ने बताउँदै आएका छन्।
यो प्रकरणमा आरजुको पनि नाम जोडिएको थियो। तर उनीमाथि कुनै छानबिन भएको छैन। शरणार्थी प्रकरणमै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पूर्वपक्षका लागि थुनामा छन्।