विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी

हिमाल प्रेस २ साउन २०८० १६:२०
8
SHARES
विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी

काठमाडौँ- आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ। आर्थिक ऐन, २०८० को दफा २२ मा भ्रमणका लागि विदेश जानेले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख छ।

सोही व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो। कार्यविधिअनुसार भ्रमण प्याकेज विक्रेताले पाउने रकममा ५ प्रतिशतका दरले शुल्क असुल गर्नुपर्नेछ। कार्यविधिमा भनिएको छ, ‘फर्म वा कम्पनीले व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफूसम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्ने खर्च रकममा लेखांकनका बखत ५ प्रतिशतका दरले शुल्क असुल गर्नुपर्नेछ।’

प्याकेज विक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले यस्तो शुल्क करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्नेछन्।

कार्यविधिअनुसार शुल्क असुल गर्ने र राजस्व खातामा दाखिल गर्ने प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएको व्यक्तिले अलग्गै दर्ता गर्नुपर्ने छैन। प्याकेज बिक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले संकलन गरेको शुल्क सम्बन्धित कार्यालयको कोड र तोकिएको राजस्व शीर्षकमा अर्को महिनाको २५ गतेभित्र दाखिल गरिसक्नुपर्नेछ।

प्रकाशित: २ साउन २०८० १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =