खुला सीमाना हुनु सुरक्षामा चुनौती : गृहमन्त्रालय

हिमाल प्रेस १ साउन २०८० १६:११
6
SHARES
खुला सीमाना हुनु सुरक्षामा चुनौती : गृहमन्त्रालय

काठमाडौँ- खुला सीमाका कारण देशको राष्ट्रिय सुरक्षामा चुनौती बढेको गुनासो आएको छ।

गृह मन्त्रालयले राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले माग गरे बमोजिमको लिखित विवरण पठाउँदै नेपालको छिमेकी दुई देशसँग खुला सीमाना हुनु राष्ट्रिय सुरक्षामा चुनौती भएको बताएको हो।

सोमबार बसेको समितिको बैठकमा समिति सचिव सीता काफ्ले वाग्लेले गृह मन्त्रालयले पठाएको विवरण पढेर सुनाएकी थिइन्।

विवरणमा खुला सीमानाका कारण मानव बेचबिखन, हातहतियार ओसारपसार लागुऔषध ओसारपसार र सीमा पारीबाट अपराधिक व्यक्ति, समूह प्रवेश गरी लुटपाट एवं अन्य अपराधिक घटना घटाउने चुनौती रहेको उल्लेख गरिएको छ।

त्यस्तै सीमापारी अपराध गरेर सीमा वारी आएर लुक्ने प्रवृत्ति रहेको र भन्सार नभएका बिन्दुहरूबाट चोरी, निकासी, तस्करी हुने गरेको पनि उल्लेख गरिएको छ।

खुला सीमानाको फाइदा उठाउँदै अवैधरूपमा शरणार्थीहरुको प्रवेश र तेस्रो देशका नागरिकहरुको अवैध घुसपैठ हुने गरेको पनि जनाइएको छ।

सरकारले सीमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको परिचालन गरेको जनाएको छ। नियमित रूपमा सीमावर्ती समकक्षीहरूसँग बैठक गरी अन्तरसीमा अपराध नियन्त्रण लगायतका विषयमा समन्वय गरिएको उल्लेख छ।

त्यस्तै सीमा स्तम्भहरूको नियमित रूपमा अनुगमन गरी भत्किएका, बिग्रिएका सीमा स्तम्भहरुको मर्मत सम्भार गरिएको सरकारको विवरणमा बताइएको छ।

सशस्त्र प्रहरी बल नेपालबाट १४ हजार २१२ जनशक्ति सीमा सुरक्षार्थ परिचालन गरिएको र हालसम्म भारततर्फ २४२ र चीनतर्फ ८ गरी जम्मा २५० स्थानमा बीओपी स्थापना भइ सञ्चालनमा रहेको स्पष्ट पारिएको छ।

प्रकाशित: १ साउन २०८० १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast