भोजपुर प्रशासनले घरमै गएर दियो नागरिकता

हिमाल प्रेस ३१ असार २०८० ८:१२
16
SHARES
भोजपुर प्रशासनले घरमै गएर दियो नागरिकता

भोजपुर– जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरु गरेको छ।

विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका ३ जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरि घिमिरेले पौवादुङमा गाउँपालिका-४ र ६ का अपांग, अशक्त र फरक क्षमता भएका नागरिकलाई घर-घरमै गएर नागरिकता वितरण गरेका हुन्।

वडा ४ बास्तिमका तेजकुमार राईलाई ०९-०१-८०-०१३७४ नम्बर, सोही वडाका आसमाया राईलाई ०९-०१-८०-०१३७५ र वडा ६ ठूलोदुम्माका अरुणराज राईलाई ०९-०१-८०-०१३७६ नम्बरको नागरिकता प्रमुख जिल्ला अधिकारी घिमिरेले घरमै पुगेर वितरण गरे।

नागरिकता नहुँदा सरकारी सेवाबाट पनि बञ्चित हुनुपरेको जानकारी गाउँपालिकाबाट आएपछि आफूहरूले घरमै गएर नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

‘नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट समेत अपांगता भएका, अशक्त र फरक क्षमता भएका नागरिक बञ्चित हुनुपरेको अवस्थामा हामीले घरमै पुगेर नागरिकता दिँदा सो सुविधा दिलाउन पनि सफल भएका छौं,’ उनले भने।

प्रमुख जिल्ला अधिकारीसहित नागरिकता वितरणका क्रममा जिल्ला न्यायाधीश मणिराम न्यौपाने, प्रशासकीय अधिकृत राजु शर्मा, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरद थापा क्षेत्री, सशस्त्र प्रहरीका प्रमुख दिनेश श्रेष्ठ, पालिका अध्यक्ष किरण राई, स्थानीय वडाका जनप्रतिनिधि र स्थानीयको सहभागी थिए।

जिल्ला प्रशासन कार्यालय आएर नागरिकता बनाउन नसक्नेका लागि पहिले पनि घरमै गएर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रशासकीय अधिकृत राजु शर्माले बताए।

आफ्ना पालिकाभित्रका नागरिक नागरिकता लिनबाट बञ्चित हुन नदिनका लागि पालिकाले स्थानीय प्रशासनसँग समन्वय गरेको पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले बताए।

‘हामीले जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बनाउन नसक्ने ३ जना अशक्तलाई गाउँमै नागरिकता दिलाउन सफल भएका छौं, यो क्रम आगामी दिनमा पनि जारी रहन्छ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast