साउनदेखि हवाई टिकटमा भ्याट, मूल्य भने नबढ्ने

हिमाल प्रेस २९ असार २०८० १९:१४
52
SHARES
साउनदेखि हवाई टिकटमा भ्याट, मूल्य भने नबढ्ने

काठमाडौँ– आर्थिक वर्ष २०८०/८१ सुरु भएको दिन साउन १ गतेदेखि हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ। आगामी आवको बजेट आएको जेठ १५ गते घोषणा भएको नयाँ कर प्रणाली असार १६ गतेबाट लागू भएको थियो। तर नेपाली वायुसेवा कम्पनीहरू भ्याट तिर्न तयार नभएपछि यसको कार्यान्वयन केही पर सरेको हो। मूल्य अभिवृद्धि कर ऐनअनुसार यो लागू भएको ३० दिनभित्रै त्यस्तो कर संकलनको व्यवस्था भइसक्नुपर्छ।

हालसम्म हवाई क्षेत्रलाई सेवामूलक उद्योग मानेर सरकारले भ्याट लगाएको थिएन। साउन १ देखि हवाई टिकटमा भ्याट लागे पनि तत्काल हवाई भाडा भने वृद्धि नहुने व्यवसायीहरूले बताएका छन्।

बुध्द एयरका सेल्स प्रमुख रूपेश जोशी साउन १ देखि भ्याट सहितको टिकट जारी हुने बताउँछन्।

‘अर्थ मन्त्रालय, कर कार्यालय लगायतसँग पटकपटक छलफल गरेपछि हामीहरू भ्याटमा जान राजी भएका हौँ,’ उनी भन्छन्, ‘भ्याट लागू भए पनि सेवाग्राहीलाई मर्का पर्ने गरी तत्काल टिकट मूल्य भने बढ्नेछैन।’

इन्धन चार्ज, विमानस्थल शुल्क, बिमा शुल्क र वायु सेवा कम्पनीले लिने भाडा गरी अहिले यात्रुले एकमुष्ट हवाई भाडा तिर्नुपर्छ। इन्धन र विमानस्थल शुल्कमा अहिले पनि भ्याट लागिरहेको छ। त्यसले गर्दा तत्काल हवाई भाडा नबढ्ने जोशीको भनाइ छ। आन्तरिक वायुसेवाले मात्रै वार्षिक १५ अर्ब रूपैयाँको कारोबार गर्दै आएका छन्।

प्रकाशित: २९ असार २०८० १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =