
काठमाडौँ- काठमाडौँ इञ्जिनियरिङ कलेजकी पल्लवी खनालले स्नातक तहमा इलेक्ट्रिकल विभागअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई)टप गरेकी छन्। ०७५ सालमा भर्ना भएकी खनालले हालसालै प्रकाशित परीक्षाफलअनुसार उत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन्।
परीक्षा नियन्त्रण महाशाखा पुल्चोकका अनुसार सबै आठओटा सेमेस्टरको एग्रिगेटमा ८३.४९ प्रतिशत ल्याएर प्रथम भएकी हुन्। आठ ओटा सेमेस्टरहरूमध्ये तीन छुट्टा छुट्टै सेमेस्टरमा उनी टपर भएकी थिइन् र समग्रमा उनले प्रथम स्थान हासिल गरिन्।
काठमाडौँ इञ्जिनियरिङ कलेजबाट विभिन्न समयमा अध्ययन संस्थानकै टपरहरू हुने गरेको प्रिन्सिपल तथा अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले जानकारी दिए। विद्यार्थीले बोर्ड परीक्षाको दिन नजिकिन लाग्दा मात्रै मेहनत गरेर भन्दा पनि सुरुबाटै नियमित पढ्ने बानि बसाल्न सके यस्तो नतिजा प्राप्त हुने उनको भनाइ छ।
उनले विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउनुमा विद्यार्थीको लगाव, शिक्षक एवम् अभिभावकको भूमिका महत्व हुने बताए। इञ्जिनियरिङ अध्ययन संस्थानले स्नातकतह पढ्नुअघि लिने प्रवेश परीक्षामा तुलनात्मकरुपमा कम स्कोर ल्याउनेहरू पुल्चोक क्याम्पसमा भर्ना नपाएपछि अन्य प्राइभेट कलेज भर्ना हुने गरेका छन्। तर नीजी शिक्षणसंस्थामा अध्ययन गरेर पनि पल्लबीले आफूलाई अब्बल सावित गरेकी छन्।
पल्लवी २०७५ सालमा भर्ना भएलगत्तै उनको लगनशीलता र मेहनत पहिलो सेमेस्टरबाटै देखिन थालेको इलेक्ट्रिकल विभागका विभागीय प्रमुख तथा एसोसियट प्रोफेसरविनोद भण्डारीले बताए। उनका अनुसार पल्लवी चाडै नै कलेजको सिफारिसमा इञ्जिनियरिङमा स्नातकोत्तर गर्न अमेरिका जाने तयारीमा छन्।