काकताली हो, नेपालमा ‘नक्कली’ भूटानी शरणार्थीको विवाद चर्केकै बखत पुनर्वासका क्रममा अष्ट्रेलिया पुगेका एक सक्कली भूटानीको लिपिबद्ध प्रयास अन्तर्राष्ट्रिय पुस्तक बजारमा पुगेको छ। अर्को विडम्बना हो, हिमाली अधिराज्य भूटानमा नागरिक अधिकारका लागि दशकौँदेखि संघर्षरत व्यक्तित्व टेकनाथ रिजाललाई शरणार्थी मामिलामा नेपालको प्रहरीले अनुसन्धानको दायरामा राखेका मानिसहरूको बीचमा पारेको अवस्था छ। यो हत्पति पत्याउन नसकिने घटना हो। पुष्कर शम्शेरको कथा ‘परिबन्द’ को मुख्य पात्रको सम्झना गराउने खालको प्रसङ्ग।
‘भूटानदेखि ब्ल्याकटाउनसम्म’ (Bhutan to Blacktown) ॐ ढुङ्गेलको संस्मरणात्मक कृति हो। यसमा भूटानबाट लखेटिएर नेपाल हुँदै अष्ट्रेलिया पुग्दासम्मको लामो र कठिन यात्राको प्रत्यक्ष वर्णन छ। ढुङ्गेल त अझ पढालेखा र थिम्फुमा उच्च ओहोदामा पुगेका अधिकृत; सामान्य खेतीपाती, शिक्षक, सानो खुद्रे पसल राखेर जीविकोपार्जन गर्ने र पढाइको अवसर नपाएका भूटानीहरूको त बेहाल हुनु अपरिहार्य थियो।
नौलो देश, भिन्न भाषा,बेग्लै परिवेश र अपरिचित संस्कृति भएका समुदायमा घुलेर बस्न अझै कतिलाई सहज हुन सकेको छैन। शरणार्थीको बिल्ला झुण्ड्याएर हिँड्नुपरेका नर-नारीले अमेरिका, क्यानडा, बेलायत जता गए पनि उस्तै खालको चुनौतीको सामना गर्नुपर्ने हुँदो रहेछ। संघर्षका अनेक चरण र आयामको चर्चा ढुङ्गेलको २७०+पृष्ठको पुस्तकमा सविस्तार भएको छ।
नयाँ ठाउँमा व्यवस्थित हुँदाका अप्ठ्यारा आफ्ना ठाउँमा छन्। त्यसअघि शरणार्थी शिविरमा दिन कटाउनुपर्दाको पीडा र वेदनाको कथा पृथक् प्रकृतिका भए। कुनै दिन आफ्नो जन्मस्थल फर्किने, खेतीपाती, बस्तुभाउ स्याहार्दै हाँसीखुसी जीवनयापन गर्ने आशा बोकेर अनिश्चयमा शिविरका झुपडीमा बाँच्नुपर्दाको विवशताको अनुमान शरणार्थी हुनेले मात्र गरेको हुन्छ।
कुनै बेला नेपाल-भुटान वार्ता हुने भन्ने समाचारले आशाको थोरै सञ्चार गराएको हुन्छ, फेरि लगत्तै वार्ता अनिर्णित भएर पछिका लागि सरेको खबर आउँछ – शिविरका बासिन्दालाई अनिश्चयको अँध्यारोमा पार्दै।
वार्ताका सिलसिला कहिले थिम्फूमा त कहिले काठमाडौँमा चालू रहन्छन्, तर ठोस परिणाम आउँदैन। पछि त संवादको सम्भावनासमेत हराउँदै जान थाल्छ। भूटान फर्किने बाटो बन्द भएको अनुभूति हुन्छ। अनि तेस्रो मुलुकमा जाने पुनर्वासको विकल्प चर्चामा आउँछ। राष्ट्रसंघीय शरणार्थी कार्यालयले शिविर धान्न चाहिने खर्चको स्रोत सुक्दै गएको जनाउ शिविरका बासिन्दालाई दिन थालेको हुन्छ।
करिब एक लाख १० हजारको संख्यामा रहेका शिविरवासीमध्ये धेरैजसोले पुनर्वासको विकल्प रोज्छन्, ६-७ हजार जति भूटान फिर्ती नै आफ्नो अन्तिम लक्ष्य हो भनेर पर्खिन चाहन्छन्। पूर्वी नेपालका मोरङ र झापामा बनाइएका शिविरहरूमा पटकपटक गएर समाचार सङ्लन गर्दा भेटेका नेपालीभाषी भूटानीहरूको टीठलाग्दो अवस्थाको चर्चा यस हरफको लेखकले देश-विदेशमा पुर्याएको छ। अर्थात् यो जीवन्त कथा हो।
ॐ ढुङ्गेलको पुस्तकमा भूटानको दक्षिणी क्षेत्रका बासिन्दा कसरी योजनाबद्ध ढङ्गले लखेटिए त्यसको सिलसिलेवार विवरण पाइन्छ। दुई सय वर्षअघिदेखि बसोबास गरिआएका नेपालीभाषी भूटानी देश र राजाप्रति सदा बफादार थिए। सन् १९०७ मा स्थापित वाङ्चुक वंशका राजाहरूले पनि शुरू-शुरूमा सबैलाई बिनाभेदभाव स्नेह, संरक्षण दिएका पनि थिए। राजा जिग्मे दोर्जी जस्तै उनका छोरा राजा जिग्मे सिंघे पनि शुरूमा दक्षिणी भूटानका बासिन्दाप्रति सकारात्मक थिए।
दशैँ, तिहारजस्ता चाडपर्वमा सहभागी हुन्थे, योग्य र क्षमतावान् युवाहरूलाई प्रोत्साहित गर्थे। त्यसै मेसोमा शाही नजरमा परेका मेधावी छात्र हुन् ॐ ढुङ्गेल। उनले बङ्गलादेश गएर दूरसञ्चारमा विषयमा उच्च अध्ययन गर्ने छात्रवृत्ति पाए; स्वदेश फर्केपछि आफ्नो फाँटमा मिहिनेत गरेर भूटानलाई विश्वसञ्चार सञ्जालमा जोड्ने काम गरे, गराए।
सरकारी सेवामा प्रवेश गरेर कलिलो वयमै माथिल्लो दर्जामा पुग्ने थोरै नेपालीभाषीमध्येका हुन् ॐ ढुङ्गेल। तर थोरै वर्षको अन्तरालमा परिस्थिति विपरीत भयो। नेपालीभाषी भूटानीप्रति शाही सरकारको व्यवहार शत्रुवत् हुन गयो। सन् १९८५ मा नागरिकता ऐन जारी गरेर सो ऐन सन् १९५८ देखि लागू भएको मानिने प्रावधान राखियो। निर्वाचित संसद् थिएन, राजाका भाइ-भारदारहरूको सल्लाह र सम्मतिमा बनाइएको त्यस ऐनले रातारात दशौँ हजार मानिस गैरकानूनी आप्रवासी ठहरिए। र, तिनलाई लखेट्न भाषा, संस्कृति, परिधानसमेतमा नयाँ नीति,पद्धति लगाइयो। नेपाली पठनपाठन, पुस्तक सबै प्रतिबन्धित भए।
सीधा र सरल भाषामा ‘जातीय सफाया’ (Ethnic cleansing) को अभियान चलाइयो। युरोप र अन्यत्र भए पश्चिमा शक्तिहरूले यसलाई जातीय सफाया नै मान्थे, तर भारतको प्रभाव भएको देशको मामिला हुनाले संस्कृतिको संरक्षण गर्ने सरकारी नीतिको असर मात्र हो भन्ने दृष्टिकोण बनाए। भूटानी सरकारको ज्यादतीप्रति आँखा चिम्लिदिए। २०४७ सालपछिको नेपालको सरकारले पनि दह्रो अडान लिएन; लिन चाहेन। गिरिजाप्रसादका गृहमन्त्री छँदाका देउवा हुन् वा परराष्ट्रमन्त्री छँदाका खड्ग ओली हुन् कसैले पनि द्विपक्षीय वार्ताहरूलाई निर्णायक चरणमा पुर्याउन सकेनन्। कतैको दबाब थियो कि कसैको प्रभावमा परे त्यो उनीहरू नै जान्लान्।
राजा जिग्मे सिंघे किन एकाएक नेपालीभाषी भूटानीप्रति कठोर भए त ? भनिन्छ, सिक्किमलाई भारतमा विलय गराउने काममा नेपालीभाषी जनताको हात भएको र नजिकै दार्जीलिङमा गोर्खाल्याण्डको आन्दोलन चर्काउने पनि तिनै हुन् तसर्थ तिनले भूटानमा पनि एकदिन विभाजनकारी प्रवृत्ति जगाउन सक्छन् भन्ने आशङ्का राजामा पर्यो। त्यसकै आडमा राजानिकटका मानिस र तिनको सानु समुदायले राजालाई एकोहोर्याइदिए। दुःखद् परिणाम निस्कियो।
राजाको हुकुममुताविक शासकवर्गले दिएका अनेक यातना र यन्त्रणाले गर्दा नेपालीभाषीहरू थातथलो छोड्न बाध्य भए। स्वेच्छाले देश त्यागेको कागजमा सहीछाप गराइयो। नछोडेर बसेकाहरू त्रासमा बाँचेका छन्। कतिपयलाई फौजदारी मुद्दा लगाएर बीसौँ वर्षदेखि कारावासमा राखिएको छ जसको चर्चा टेकनाथ रिजालका पुस्तकहरूमा केही वर्षअघि नै उपलब्ध थिए।
भूटान सरकारको जातीय सफाया अभियानमा भारतको सहमति थियो त?
यो प्रश्नको उत्तर ‘थियो’ मा हुनुपर्ने प्रारम्भिक कारण सन् १९४९ को सन्धि हो जसमा भूटानको परराष्ट्र मामिलामा भारतले मार्गदर्शन गर्ने प्रावधान छ। त्यसैगरी, सन् १९९०-९१ तिर भूटानबाट लखेटिन थालेका नेपालीभाषीलाई भारतीय भूमिमा प्रवेश गर्नासाथ त्यहाँ बस्न नदिईकन ट्रकमा खाँदेर तिनको लस्कर नेपाली सीमाक्षेत्र काँकडभिट्ठाछेउ ओरालिदिने गरेका घटनाले पनि दिल्लीको नियत स्पष्ट गर्छ।
केही वर्षपछि तिनै शरणार्थीलाई समूहगत रूपमा भूटान फर्किन खोज्दा भारतीय प्रहरीले बाटो दिएन। स्पष्टै छ, दिल्लीको आदेश नभैकन त्यसो गरिने कुरो थिएन।
देशनिकालामा पारिएका भूटानीहरूको हक-अधिकारको बारेमा पहल-पैरवीमा लाग्दा ॐ र उनका समकालीन सहकर्मीहरूले युरोप, अमेरिका सबैतिरबाट समर्थन र सहयोग पाएको बेहोरा ढुङ्गेलको किताबमा परेको छ। यहीँनेर उल्लेख गरेका छन्-एउटा देश भने यसमा अपवाद भैदियो र त्यो हो छिमेकी भारत। १२ अध्यायमा लेखिएको पुस्तकको पाँचौँ अध्यायमा यसबारे लेखकका धारणा सङ्लिएर आएका छन्। दिल्लीको आड नपाएको भए भूटानी सरकारले ‘ल्होत्शाम्पा’ (दक्षिणीभेगका बासिन्दा) भनेर नेपालीभाषीहरूलाई अमानवीय ढङ्गले उठिबास लगाउने थिएन। ‘ङोलोप’ (देशद्रोही) भनेर निष्काशन गर्ने थिएन।
जे होस्, शरणार्थी भै बसेको मुलुक नेपालबाट पुनर्वासका क्रममा विदेश पुगेपछिका पाटा सबै नकारात्मक छैनन्। सकारात्मक पनि छन्। जस्तो, चर्चित पुस्तकको नाममा परेको ‘ब्ल्याकटाउन’ शब्दले सिड्नी महानगरको एक परिचित उपनगरलाई जनाउँछ। र, यो यस्तो बस्ती रहेछ जहाँ ढुङ्गेलको परिवार १८८ देशबाट आएका मानिसहरूको बीचमा बस्दछ। यति टड्कारो सांस्कृतिक विविधता अष्ट्रेलियामा शायद अन्यत्र छैन। लेखकको अनुमानमा त यो विश्वकै कीर्तिमान हुनुपर्छ। सांस्कृतिक विविधताबीच एकतामा आबद्ध भएर शान्तिपूर्वक बाँच्न सकिने दृष्टान्त हो अष्ट्रेलिया। भूटान र नेपालजस्ता मुलुक जनताले यसबाट सकारात्मक सोच बनाउन सक्छन्।
विवेच्य किताबका लागि लेखिएको ‘भूमिका’ यस प्रकाशनको थप आकर्षण हो। किनभने यो अष्ट्रेलियाका वर्तमान प्रधानमन्त्री एण्टनी अल्बेनिजीको कलमबाट आएको छ। छोटो तर सारगर्भित छ उनको मन्तव्य। आशय यस्तो छ:- जे जस्तो परिस्थितिमा ॐ ले जन्मभूमि छोड्नुपर्यो त्यो खुसीको विषय किमार्थ होइन; तर प्रसन्नताको पक्ष ॐ को छनोटमा अष्ट्रेलिया पर्नुचाहिँ हो। त्यसैले सगर्व भन्न पाइएको छ-तपाईंको हातमा अहिले जे छ त्यो अद्वितीय अष्ट्रेलियाली-कथा हो।’
ॐ ढुङ्गेलले जेम्स बटन नाम भएका अष्ट्रेलियाली पत्रकारको सहयोगमा प्रकाशित गरेको यो अङ्ग्रेजी पुस्तकले भूटानको जीवन्त कथालाई अन्तर्राष्ट्रिय जगत्मा पुर्याउन प्रयत्न गरेको छ।
तीन महिनाअघि निस्केको यो सचित्र पुस्तकप्रतिको प्रारम्भिक जनरुचिले लेखकको हौसला पनि बढेको देखिन्छ। हालैको एक भेटमा मैले लेखकबाट सुन्न पाएँ:- यस पुस्तकको पृष्ठभूमिसमेत जान्न चाहने पाठकहरूका लागि अष्ट्रेलियाका विभिन्न भागमा आयोजित छलफल कार्यक्रम तथा प्रेस माध्यमहरूको अभिरुचि एवम् अनुरोधले मलाई निकै उत्साहित गराएको छ।