इटहरी- घटना १ : असार २० गते राति विराटनगरको दूधफारमस्थित कोशी राजमार्गमा बा१५च ३४४५ नम्बरको कार बिस्तारै रोकिन्छ। कारबाट एक व्यक्ति ओर्लन्छन् र विपरीत दिशाबाट आइरहेका साइकलयात्रीलाई मुक्का प्रहार गर्छन्। ती पुरुषको मुक्का लागेर पवन साह सडकमा ढल्छन्। घाइते साहलाई घिसारेर छाडी ती पुरुष कारमा चढ्छन्।कार आफ्नो बाटो लाग्छ। घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ भने दुईजना फरार छन्।
साहलाई कुटपिट गर्नेमा कारमा सवार १९ वर्षीय आयुष भेटुवाल, १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुम जिल्ला घर ठेगाना भएका ३० वर्षीय रोशन कार्की रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
आयुषलाई २१ गते प्रहरीले पक्राउ गरेको हो। उनीमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। कुशल र रोशनको खोजी भइरहेको छ।
घटना २ : मोरङकै लेटाङ नगरपालिकाको जंगल क्षेत्रमा असार २३ गते शनिबार लुटपाट भयो। पथरीबाट जाँतेतर्फ जाँदै गरेका लेटाङ-८ का ओमप्रकाश रानामगरलाई दिउँसोको समयमै अज्ञात समूहले लुटपाट गरेको हो। घटना लेटाङ-९ जाँते-पथरी सडकखण्डमा भएको थियो। हतियारसहित ५ जनाको समूहमा रहेका लुटेराले लुटपाट गरेका थिए। ३ जना लुटपाटमा संलग्न भएको र २ जनाले सहयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटना ३ : असार दोस्रो साता कानेपोखरी जंगल क्षेत्रमा सोही किसिमको लुटपाट भएको थियो। सोही दिन केराबारीको जंगलमा समेत लुटपाट भएको प्रहरीकहाँ उजुरी परेको छ। लुटपाटका घटनामा लागूऔषध सेवनकर्ता संलग्न भएको प्रहरीको आशंका छ।
यी केही प्रतिनिधिमूलक घटना हुन्। पछिल्लो समय मोरङमा लुटपाट, चोरी, ज्यान मार्ने उद्योगलगायतका आपराधिक बढिरहेको प्रहरी अधिकारी नै स्वीकार गर्छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले आपराधिक घटना बढिहरेकाले निगरानी पनि बढाइएको बताए।
‘कुनै घटना निश्चित समयमा बढ्ने र कतिपय घटना भइसकेपछि केही समयसम्म त्यस्तै किसिमका अन्य घटना भइरहने प्रवृत्ति छ,’ दाहालले हिमाल प्रेससँग भने, ‘हामीले विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ।’ यौनजन्य घटना, लागूऔषध, चोरी, ज्यान मार्ने उद्योग, लुटपाटजस्ता घटनामा वृद्धि रहेको प्रहरी तथ्यांक छ।
लुटपाटका घटनामा अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए। उत्तरी मोरङका लेटाङ, कानेपोखरी, पथरीलगायतका जंगलमा लुटपाटका घटना बढेपछि विशेष प्रहरी टोली परिचालन गरिएको दाहालले बताए। ‘ठ्याक्कै यही मान्छेले घटना गराएको नभएकाले हामीले विशेष प्रहरी टोली परिचालन गरी अनुसन्धान सुरु गरेका छौँ,’ उनले भने।
प्रहरीसमक्ष पछिल्लो समय सहकारीबाट ठगिएको उजुरी पनि आउन थालेको छ। कुटपिट र लुटपाटका घटना बढिरहे पनि चोरीका घटनामा कमी आएको उनको दाबी छ।
दाहालले भने, ‘हामीले थुप्रै गिरोहलाई समय-समयमा पक्राउ गरेर पुर्पक्षमा पठाएका छौँ। अहिले चोरी भएको भनेर उजुरी दिनेको संख्या घटेको छ।’
कस्ता घटनामा बढी उजुरी आएका छन् भन्ने जिज्ञासामा उनले भने, ‘बढीजसो यौनजन्य घटनामा निरन्तर उजुरी आइरहेका छन्। पहिलेपहिले घटना भए पनि प्रहरीलाई जानकारी हुँदैनथ्यो। अहिले प्रहरीकहाँ उजुरी आउन थालेको छ।’
घटना बाहिर आउँदा दोषीमाथि कारबाही हुने र अरू आपराधिक घटना हुन निरुत्साहित हुने प्रहरीको विश्वास छ। ‘घटना निरन्तर हुन्छन्, जबरजस्ती करणीका रिपोर्टिङ पनि बढिरहेका छन्,’ डीएसपी दाहालले भने, ‘पहिला घटना लुकेका हुन्थे, अहिले घटना बाहिर आउँछन्। घटना बाहिर आउँदा अभियुक्तहरू कारबाहीको दायरामा आउँछन्।’
विराटनगरको दूधफारामअगाडि साइकलयात्रीमाथि भएको अमानवीय घटनामा प्रहरीले १२ घण्टाभित्रै मुख्य अभियुक्तलाई पक्राउ गरेको उनले बताए। ‘हामीले तत्कालै पीडितलाई उद्वार गरी अस्पताल लगेर उपचार गर्न सुरु गरेपछि घटनामा संलग्नको खोजी गरेका थियौँ,’ उनले भने, ‘प्रहरी टोलीले गाडीको पहिचान गरेपछि १२ घण्टाभित्रै मुख्य अभियुक्त आयुष भेटुवाललाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेका छौँ।’
मोरङ प्रहरीको दुई महिनामा आपराधिक घटनाको तथ्यांक
मोरङ प्रहरीको तथ्यांकअनुसार जेठ महिनायता एक सय ६७ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये एक सय ३० जनालाई पक्राउ गरी कारबाही गरिएको छ। ३४ वटा आत्महत्या, ३२ वटा लागूऔषध, २२ वटा चोरी, १७ वटा भवितव्य ज्यान, ११ वटा सवारी ज्यान, ९ वटा जबरजस्ती करणी, ५ वटा सवारी अंगभंग, ४ वटा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको हो।
आपराधिक उपद्रो गरी लाभसम्बन्धी कसुर, शरीर बन्धक, मानव बेचबिखन, कुटपिट, सवारी चोरी, बाल यौन दुरुपयोग, हाडनाता जबरजस्ती करणी जस्ता शीर्षकमा पनि मुद्दा दर्ता भएको छ।
असार २६ गतेसम्मको तथ्यांकअनुसार ५३ वटा घटनामा अनुसन्धान गरी मुद्दा दर्ता गरिएको दाहालले जानकारी दिए। अभद्र व्यवहारमा १२, बैँकिङ कसुरमा ७, बाल यौन दुरुपयोगमा ६, बहुविवाह ३, भवितव्य ज्यानमा ३, आत्महत्या ३, कुटपिट अंगभंगमा २ मुद्दा दर्ता भएका छन्।
असारमा मात्रै मोरङमा विभिन्न घटनामा संलग्न भएको आरोपमा ३० जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।