काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री बनेको ७ महिना भएको छ। उनी पुस १० मा प्रधानमन्त्री बनेका हुन्। प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेको श्रीमती सीता दाहालले भने थाहै पाइनन्। प्रचण्ड प्रधानमन्त्री हुनुभन्दा झन्डै डेढ वर्षअघिदेखि नै सीता अचेत थिइन्।
प्रचण्ड प्रधानमन्त्री बनेपछि पत्नी सीतालाई पनि खुमलटारबाट बालुवाटार सारिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार पार्किन्सनजस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी’ (पीएसपी) बाट पीडित थिइन् सीता।
बालुवाटारको एउटा कोठामा सीता अचेत अवस्थामा सुतिरन्थिइन् सीता। उनको स्याहारसुसारका निम्ति नर्ससहितको जनशक्ति खटाइएको थियो। समय पाउँदा प्रचण्ड र कान्छी छोरी गंगाले पनि सीताको रेखदेख गर्थे। ‘उहाँलाई खाउनेपियाउनेदेखि बाहिरभित्र गराउने सबै काम अरूकै भरमा गर्नुपर्थ्यो,’ प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘विगत दुई वर्षदेखि उहाँ अचेत हुनुहुन्थ्यो।’ ती सदस्यका अनुसार पर्वविशेषमा सीतालाई बोलाउने प्रयत्न परिवारका सदस्यले गर्थे। तर उनी थाहै पाउँदिन थिइन्।
‘उहाँ (सीता दाहाल) दुई वर्षदेखि जटिल रोगको सामना गर्दै हुनुहुन्थ्यो, अचेत हुनुहुन्थ्यो’, प्रधानमन्त्रीका निजी चिकित्सक प्रोफेसर डा. युवराज शर्माले सीताको मृत्युपछि भनेका छन्।
सीताले परिवारमा बारम्बार पीडा भोगिन्। दोस्रो संविधानसभाको चुनाव हुनुभन्दा केही समयअघि जेठी छोरी ज्ञानुमा स्तन क्यान्सर देखियो। उपचारका सबै उपाय खोजी भयो। देशभित्र र बाहिर पनि उपचारका लागि लगियो। क्यान्सर निको भएन। २०७० चैत १३ गते ज्ञानुको ४० वर्षकै उमेरमा काठमाडौँको ओम अस्पतालमा निधन भयो।
छोरीको निधनले सीता शोकमा परिन्। बिस्तारै उनमा विभिन्न रोगका लक्षण देखिन थाले। उनलाई मानसिक तनाव धेरै नलिन र खुसी रहन डाक्टरले सुझाव दिएका थिए।
सीतामाथि फेरि अर्को बज्रपात आइलाग्यो। लाजिम्पाटस्थित घरमै सुतिरहेका बेला छोरा प्रकाश दाहालको ३ मंसिर २०७४ मा मृत्यु भयो। छोरोको मृत्युपछि सीता झन् विक्षिप्त बनिन्। प्रचण्डको पारिवारिक स्रोतका अनुसार छोरा प्रकाशको निधनपछि सीता तनावमा थिइन्।
उनको पीडा कम हुन्छ कि भनेर प्रचण्ड परिवार लाजिम्पाटस्थित घरबाट सर्यो। उनीहरु ललितपुरको खुमलटारमा बस्न थाले। तर सीतालाई निको भएन। छोराछोरीको शोकमा परेपछि सीता शिथिल भएको माओवादी केन्द्रका एक नेताले बताए।
जनयुद्धमा प्रचण्डको साथमै हुन्थिन् सीता
प्रचण्डको अगुवाइमा २०५२ साल फागुन १ मा ‘जनयुद्ध’ सुरु हुँदा सीता पनि भूमिगत भएकी थिइन्। श्रीमान् र छोराछोरीको स्याहार र पार्टीको प्रचारमा सघाउन उनी जनयुद्धमा लागेकी थिइन्। ‘हाम्रो परिवारमा जनयुद्ध नलडेको कोही पनि छैन। आमा (सीता) पनि भूमिगत हुनुभएको हो,’ छोरी रेणुले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘त्यो बेलामा जनयुद्ध लड्दा हामीलाई कति तनाव थियो? हाम्रा बाबाआमालाई पनि छोराछोरीको भविष्यको चिन्ता थियो।’
पश्चिम र पूर्वका केही ठाउँमा एकैसाथ प्रहरी कार्यालयमाथि माओवादीले आक्रमण गर्यो। त्यो बेला प्रचण्ड र सीता काठमाडौंमै थिए।
जनयुद्धका बेला सीता कहिले रोल्पा, रुकुम त कहिले काठमाडौँ, ललितपुरका विभिन्न ठाउँ सर्दै बसिन्। युद्ध चर्किँदै गएपछि उनीहरू भारतका विभिन्न सहरमा बसे। सूचना आदानप्रदान गर्ने काममा सीताको योगदान उल्लेखीय रहेको माओवादी स्रोतको भनाइ छ।
गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री बने। देश तथा विदेशमा पनि यो विषयले चर्चा पायो। तर प्रचण्डकै पत्नी सीताले थाहै पाइनन्। सीता प्रचण्ड प्रधानमन्त्री हुँदाहुँदै संसार छाडिन्। प्रचण्डले सीतालाई निको पार्न देशविदेशका अस्पताल नलगेका होइनन्। तर केही लागेन। सीता बुधबार बिहान ८:३३ मा सधैँका लागि संसारबाट अस्ताएकी छन्। उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
यो पनि
प्रधानमन्त्री पत्नी सीतालाई श्रद्धाञ्जली दिन नेताहरू नर्भिकमा [तस्बिरहरू]