आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै

हिमाल प्रेस २६ असार २०८० ८:५६
6
SHARES
आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै

चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट चालु आर्थिक वर्षको ११ महिनामा ८३ हजारभन्दा धेरै नागरिकले सेवा लिएका छन्।

केन्द्रले सोमबार आयोजना गरेको आयुर्वेद सेवा प्रवर्द्धनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सार्वजनिक गरिएको जेठ मसान्तसम्मको तथ्यांकका अनुसार २०७९ साउनदेखि २०८० जेठसम्म ८३ हजार तीन सय ७९ जना सेवाग्राहीले सेवा लिएका हुन्।

स्वास्थ्य केन्द्रमा उपचार गराउन आएका बिरामीले १० प्रकारका सेवा लिएका केन्द्रकी प्रमुख डा कोपिला अधिकारीले बताइन्।

केन्द्रबाट ५० हजार आठ सय ३३ जनाले बहिरंग चिकित्सा, नौ हजार छ सय ६३ जनाले पूर्वकर्म/पञ्चकर्म, छ हजार छ सय ८० जनाले ज्येष्ठ नागरिक सेवा, छ हजार तीन सय ९४ जनाले नागरिक आरोग्य स्वास्थ्य सेवा, पाँच हजार एक सय ३७ जनाले योग सेवा, दुई हजार आठ सय ५९ जनाले ल्याब सेवा, एक हजार २९ जनाले स्तनपायी आमा तथा शिशु सेवा, चार सय ९१ जनाले अकुपन्चर सेवा, दुई सय ३० जनाले फिजियोथेरापी सेवा र ६३ जनाले अल्ट्रासाउन्ड सेवा लिएको डा अधिकारीले बताइन्।

हाल रत्ननगर नगरपालिकामै आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालनमा रहेको उनले जानकारी दिइन्। भरतपुरमा बागमती प्रदेश सरकारको लगानीमा ५० शय्याको आयुर्वेद अस्पताल सञ्चालनका लागि भवन निर्माण सुरु भइसकेको उनको भनाइ छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम करिब २० प्रतिशत सम्पन्न भइसकेको उनले जानकारी दिइन्।

चालु आव २०७९/८० मा आयुर्वेद अस्पताल निर्माणका लागि चार करोड रुपैयाँ बजेट विनियोजन भएर काम भइरहेको भन्दै डा अधिकारीले बागमती प्रदेश सरकारले आगामी आव २०८०/८१ मा उक्त भवनका लागि पुनः तीन करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरको जानकारी दिइन्।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको आयुर्वेद अस्पतालको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न गर्नका लागि करिब रु १३ करोड बजेट आवश्यक पर्ने पूर्वानुमान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा रहेको खाली जग्गामा आयुर्वेद अस्पतालको भवन बनिरहेको छ।

नयाँ भवनमा अस्पतालको शय्याका अतिरिक्त थेरापी शय्या, योगहल, प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे कक्ष रहने प्रमुख डा अधिकारीले जानकारी दिए।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आयुर्वेद चिकित्सा कोरोना भाइरसको प्रकोपपछि अझ प्रभावकारी बनेको बताए। ्

प्रकाशित: २६ असार २०८० ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast