काठमाडौँ- संसद् अवरोध हटाउन आज (सोमबार) पनि शीर्ष नेताहरू जुट्ने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदबारमा छलफल गर्ने तय भएको हो।
छलफल १ बजेका लागि बोलाइए पनि हालसम्म सुरु भएको छैन।
आजै अपराह्न ३ बजेका लागि प्रतिनिधिसभा बैठक राखिएको छ। बैठक सुचालु गर्न प्रधानमन्त्री प्रचण्डकै सक्रियतामा बैठक राख्न खोजिएको हो। संसद् अवरोध हटाउन आइतबार पनि ३ नेताबीच छलफल भएको थियो।
तीन नेताबीच संसद् अवरोध हटाउने सहमति भए पनि ओलीले सहमति उल्ट्याएका थिए। १८ असारमा प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन समारोहमा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्दै एमालेले राजीनामा माग गर्दै आएको छ।