मिटरब्याजसम्बन्धी विधेयक पारित गर्न माग गर्दै पीडितको प्रदर्शन

हिमाल प्रेस २४ असार २०८० १५:०५
12
SHARES
मिटरब्याजसम्बन्धी विधेयक पारित गर्न माग गर्दै पीडितको प्रदर्शन तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- मिटरब्याजसम्बन्धी विधेयक पारित गर्न माग गर्दै पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। आइतबार काठमाडौँको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म मिटरब्याजपीडितहरूले प्रदर्शन गरेका हुन्।

मिटरब्याजपीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ।

संविधानअनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसद्‍बाट पारित नभए विधेयक स्वत: निष्क्रिय हुन्छ। विधेयक निष्क्रिय भएसँगै मिटरब्याजपीडितले पारित हुनुपर्ने माग राख्दै आएका छन्।

मिटरब्याजपीडित रेखा साहले तीनवटा पार्टी मिलेर मिटरब्याज विरुद्धको कानुन पारित हुन नदिएको आरोप लगाइन्। उनले संसद्‍बाट मिटरब्याज विरुद्धको विधेयक पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिइन्।

मिटरब्याजपीडितले न्याय नपाएसम्म सडक आन्दोलन गरिरहने उनको भनाइ थियो। उनले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपाल गरी तीन पार्टी मिलेर कानुन पास हुन नदिएको आरोप लगाइन्।

पीडितहरूले सरकारले माग सम्बोधन गर्न छानबिन आयोग बनाएर पनि कारबाही गर्न बनेको विधेयक निष्क्रिय भएसँगै मिटरब्याजीहरू चलमलाएको बताएका छन्। पीडितहरूले सरकारले दिएको ललिपपले मान्ने अवस्था नरहेको बताएका छन्।

प्रकाशित: २४ असार २०८० १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =