
काठमाडौँ- चालु आर्थिक वर्ष सकिनै लाग्दासम्म सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्ष २०७९/८० सकिन एक हप्तामात्रै बाँकी हुँदा राजस्व संकलन लक्ष्यको ६३.२६ प्रतिशत संकलन गरिएको छ।
चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएको छ। शुक्रबारसम्म ९ खर्ब २२ अर्ब ६९ करोड ६२ लाख रुपैयाँ संकलन गरिएको छ। संकलित राजस्व लक्ष्यको ६३.२६ प्रतिशतमात्रै हो।
महालेखा नियन्त्रण कार्यालयले विभिन्न कर तथा गैरकर, अनुदानलगायत शीर्षकमा राजस्व संकलन गरिएको जानकारी दिएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको शुक्रबारसम्म ४ अर्ब ८० करोड २० लाख रुपैयाँ विभिन्न दातृ निकायबाट अनुदान प्राप्त भएको छ। अनुदान पनि सरकारकाे आम्दानीमै जाेडिन्छ।
शुक्रबारसम्मको विवरणअनुसार सरकारकाे आम्दानीभन्दा खर्च बढी छ। शुक्रबारसम्म सरकारको कुल बजेट खर्च १३ खर्ब १६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ गरेको छ। उक्त खर्च कुल बजेटको ७३.४१ प्रतिशत हो।
चालु आर्थिक वर्षमा सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। पछिल्लो समय आर्थिक वर्ष सकिनै लाग्दा बजेट खर्चको गति बढेको छ।