काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउने बताएका छन्। बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आउका बेला अर्थमन्त्री महतले उक्त आश्वासन दिएका हुन्।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँले शनिबार आयोजना गरेको कार्यक्रममा उनले चर्को ब्याजदर घटाउन आफूले नेपाल राष्ट्र बैंकलाई भनेको बताए। आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास रहेको उनको भनाइ थियो।
अर्थमन्त्री महतले कोभिडलगायत समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताए। ‘यो अहिलेको जुन ब्याजदर छ। यो धेरै ज्यादा छ,’ उनले भने, ‘त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्तालिकीकरण गर्न पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा मैले नेपाल राष्ट्र बैंकका पदाधिकारीहरूसँग राखेको छु।’