काठमाडौँबाट ४० किलोमिटर उत्तर नुवाकोट जिल्लाको रानीपौवाको सीमान्त अक्कर भिरमा निगाले फुङफुङ झरना छ। यो झरना हेर्न चाहनेले माछापोखरीबाट सार्वजनिक यातायात चढेर गए पनि हुन्छ।
निजी सवारीबाट जानेहरूले भने आफ्नो सवारीलाई रानीपौवामा राखेर पैदल यात्रा गर्नुपर्ने हुन्छ। रानीपौवाबाट भिरालो बाटो झरनासम्म गएर फेरि उकालो चढेर फर्किनुपर्छ। रानीपौवाबाट कच्ची बाटो केही तलसम्म जाने र दुईपांग्रे सवारीमा पनि यात्रा गर्न सकिन्छ। तर पनि यो दुस्साहसजस्तै हुनेछ।
गत शनिबार यही फुङफुङ झरना हेर्न पुगियो। पदयात्री काठमाडौँ, भृकुटीमण्डपमा भेला भए। बालाजुको माछापोखरी, मुड्खु, तीनपिप्ले, ओखरपौवा, ककनी हुँदै रानीपौवामा पुगेर बस रोकिएको थियो।
तीनपिप्लेसम्म काठमाडाैँको तारकेश्वर नगरपालिकामा पर्ने भएकाले ओखरपौवामा नुवाकोट जिल्लामा स्वागत गर्न एउटा भव्य सुन्दर प्रवेशद्वार निर्माण गरिएको छ। मुड्खुबाट उत्तर लागेपछि तरेली परेका पहाडका भित्ता र कान्लामा सुन्दर बस्ती देखिन्छन्। जसले बिस्तारै ग्रामीण जीवनमा आएको सकारात्मक परिवर्तनको संकेत गर्छन्। त्यहाँ भएका आवासीय भवनले जीवनस्तरमा आएको सुधार र सम्पन्नता झल्काउँछन्।
ककनी भनेपछि हिमाली दृश्यावलोकन र अवकाशपछि सम्पन्न व्यक्तिहरू बस्ने ठाउँ भनेर हाम्रो मस्तिष्कमा आउने गर्थ्यो। हाल त्यसमा केही परिवर्तन आएको देखिन्छ। मुड्खुबाट उत्तर लागेपछि पोल्ट्री फार्मिङ, ट्राउट फार्मिङ र तरकारीका लागि चिनिँदै गएको छ। फुर्सदमा ट्राउट माछा खान जानेहरूको लर्को पनि देखिन्छ त्यहाँ। बाटो छेउछाउ र पाखामा प्रशस्त होटल र रिसोर्ट छन्। जो पर्यटकको स्वागत गर्न तयार देखिन्छन्।
रानीपौवामा ओर्लेर पैदल हिँड्यौँ। कच्ची उबडखाबड बाटो हिँड्नुभन्दा समुदायले निर्माण गरेको भर्याङ हुँदै ओर्लेर जाने निधो गर्यौँ। मूल सडकबाट ओर्लेर ककनी-४, दोभानमा भएको शारदी खोलासम्म पुगेर कच्ची बाटो समात्दै झरना भएको ठाउँसम्म पुग्यौँ। नेपालको पूर्वतिर जाँदामात्र देखिने अलैँची खेती देखेर मन आनन्दित भयो।
भर्याङबाट ओरालो लाग्दा झरनाको छङछङ आवाज कानमा ठोक्किन थाल्छ। हामी त्यहाँ जाँदा असारे झरी परिरहेको थियो। भुइँकुहिरोले जंगलमात्र होइन झरनासमेत ढाकेको थियो।
झरना ओजपूर्ण र आकर्षक छ। मनमोहक छ। त्यहाँ पुग्दा यात्राका सबै पीडा बिर्सिइन्छ। त्यसैसँग एकाकार भइन्छ। थकाइ बिसाइन्छ। यसको शिर हुँदै किसानका खेतका गह्रा देखिन्छन्। गह्रागह्राको आलीआली छिचोलेर बगेको पानी, चट्टानका कापकापबाट झरेर, रूखका जराजराबाट चुहिएर, रसाउँदै, पलाउँदै संग्रहित भएर बग्दै हरिया जंगलका बीचबाट चट्टानको शिर चढेर भुइँमा बजारिएको फुङफुङ झरना बेजोड देखिन्छ।
झरीपछि आकाश खुलेर सूर्यका किरण परे सप्तरंगी इन्द्रधनुष बन्थ्यो होला। तर बादल खुलेन। आकाश धुम्मिएर, पिलपिलाएर आँसु झारिरह्यो। भिजेर भए पनि हामीले झरनाको सौन्दर्यको रसपान गर्यौँ। झरना एक सय मिटरभन्दा अग्लो छ। हामी बसेको ठाउँबाट हेर्दा जति अग्लो यो देखिएको छ त्यति नै तल गहिरो चट्टानबाट झरेको छ।
यो झरना हेर्न जाने पर्यटकको संख्या बढ्दै गइरहेको छ। झरनाको पानीमा खेल्न चाहने, नुहाउन चाहने युवकयुवतीको आकर्षण पनि बढ्दै गइरहेको छ। टिकटक बनाउने, सर्ट भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरूको भीड पनि त्यस्तै हुन्छ।
स्थानीय प्रशासन, समुदाय वा क्लबले यहाँ सुधार र निर्माणका काम तत्काल गर्न आवश्यक देखिन्छ। पहिलो, झरनाबाट झर्ने पानीका कारण ढुंगा लेउ लागेर चिप्ला भएका छन्। फोटो खिच्दा, टिकटक बनाउँदा युवकयुवती लडेर घाइते भइरहेका थिए। त्यसको समाधान गर्नुपर्छ।
त्यसैगरी झरनाको दृश्यावलोकन गरिने ठाउँ चट्टानमाथि बसेको छ। त्यसको किनारमा भिर छ। त्यहाँबाट कोही लड्यो भने उसको हड्डीमात्र भेटिन्छ होला। त्यहाँ बार लगाउनु अति नै आवश्यक देखिन्छ। पर्यटकको सुविधाका लागि फलामे बारसहित भर्याङ देख्दा बाँकी काम पनि स्थानीयको योजनामा होला भन्ने अनुमान गरियो।
भाषिक सामीप्य र सांस्कृतिक अन्तरघुलनले मानिसको दैनिकी र व्यवहारलाई नजिक ल्याउँदो रहेछ भन्ने उदाहरणको नमुना पनि हो फुङफुङ झरना। ताप्लेजुङमा लिम्बू भाषामा फाङफाङदेन पनि भनिने फुङफुङ झरना छ। यता नुवाकोटको ककनीमा तामाङ बस्तीमा पनि फुङफुङ झरना छ। यताको बर्खामास देखिने मौसमी हो भने उता ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकामा भएको झरना सन् २०२० र २०२२ मा नेपालमा घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्न सफल पर्यटकीय स्थल हो।
नुवाकोटको फुङफुङ झरना १०० मिटरभन्दा केही बढी अग्लो होला उता ताप्लेजुङको फुङफुङे ३०० मिटर अग्लो छ। जो ताप्लेजुङकै सबैभन्दा अग्लो झरना हो। तरेली परेको पहाडको कान्लामा सानासाना गह्रा बनाएर धान रोपाइँ गरेको सुन्दर दृश्य पनि हेर्यौँ। खेतका गह्रा र बारीका कान्लाका डिल हुँदै उकालो बाटो आइयो। एक घण्टाको ठाडो उकालोपछि कच्ची फराकिलो बाटो फेला पर्यो। डेढ घण्टाको हिँडाइपछि पुनः रानीपौवामा आएर बस चढियो। अनि काठमाडौँ लागियो।
काठमाडौँ नजिकै भएर पनि झरनाले खासै चर्चा पाएको छैन। यसको प्रचार आवश्यक छ। असार, साउन, भदौ र असोजमा साहसिक पर्यटकीय खेल क्यानोइङ गर्न सकिने सम्भावना छ। त्यसका लागि पहुँच स्थलको स्तर वृद्धि र झरना आसपास सुरक्षासम्बन्धी भौतिक निर्माण आवश्यक देखिन्छ।