संसद्‌मा एमालेभन्दा भिन्‍न देखिन रास्वपालाई सकस

हिमाल प्रेस २३ असार २०८० १५:५६
14
SHARES
संसद्‌मा एमालेभन्दा भिन्‍न देखिन रास्वपालाई सकस

काठमाडौँ- सत्तामा रहँदा नेकपा एमालेसँग ‘चोचोमोचो’ मिलेको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले भिन्न देखिने कोसिसमा छ। एमालेले गठबन्धनको नेतृत्व गर्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रास्वपा  सामेल थियो। रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री थिए।

नागरिकता विवादमा अदालतबाट लामिछानेकाे स‌ांसद पद खारेज भएपछि उनी सरकारबाट बाहिरिए। त्यसको केही समयपछि रास्वपाले सबै मन्त्रीलाई फिर्ता बोलायो।

त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा नागरिकता प्रकरणबाट मन्त्री पद पनि गुमाएकालामिछानेको पक्षमा बोलेका थिए। ‘अदालतले लामिछानेलाई गैरनागरिक त घोषणा गर्‍यो। तर कसलाई न्याय भयो थाहा छैन,’ ओलीले भनेका थिए, ‘एउटा न एउटा पक्षलाई त न्याय हुनुपर्ने हो नि तर भएन। यो कस्तो फैसला?’

एमालेसँग सत्तामा तालमेल मिलेकै कारण रास्वपालाई ‘एमालेबाट प्रभावित’को ट्याग लागेको थियो। लामिछाने गृहमन्त्री रहँदा बारम्बार ओलीसँग छलफलका लागि बोलकोट पुग्थे।

एमाले र रास्वपा सत्ता बाहिर पुगेपछि भने भिन्नभिन्न गतिविधि देखिन थाले। यद्यपि एमालेले राष्ट्रपतिमा उठाएका उम्मेदवारलाई रास्वपाले मत हालेन। एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको थियो तर रास्वपाले गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई सघायो। त्यति बेला रास्वपाले सत्ता स्वार्थका लागि सत्तापक्षमा मत हालेको आरोप लागेको थियो। वैशाख १० मा भएको उपनिर्वाचनमा पनि रास्वपा र एमालेबीच तालमेल भएन। एक्लाएक्लै लडे।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच गठबन्धन थियो। तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा रास्वपाले २ र जसपाले एक ठाउँमा जित हासिल गरे। उपनिर्वाचनमा रास्वपालाई एमालेको ‘अदृश्य’ सहयोग मिलेको टिप्पणी पनि भयो। तनहुँ २ मा रास्वपाका स्वर्णिम वाग्लेलाई एमालेले सहयोग गरेको विषयमा चर्चा भएको थियो।

पछिल्लो समय भने एमाले र रास्वपा दुवै प्रतिपक्षमा छन्। दुवै एउटै भूमिकामा रहे पनि रास्वपाले आफूलाई भिन्न बनाउने कसरत गरिरहेको छ। अहिले प्रधानमन्त्री प्रचण्ड एक अभिव्यक्तिका कारण विवादमा छन्। भारतीय नागरिकले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली र काठमाडौँ धाइरहेको प्रसंग बोलेका प्रचण्डले राजीनामा दिनुपर्ने अडान प्रतिपक्षी दलको छ। प्रमुख प्रतिपक्षी एमालेकै नेतृत्वमा बारम्बार संसद् अवरुद्ध भइरहेको छ। त्यसमा रास्वपाले पनि सघाइरहेको छ। तर रास्वपाले प्रधानमन्त्रीको राजीनामाचाहिँ मागेको छैन।

‘हामीले अहिलेसम्म प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ,’ रास्वपा सांसद मनीष झाले भने, ‘हामीले प्रधानमन्त्रीबाट उक्त अभिव्यक्तिका बारेमा जवाफ मात्र माग गरिरहेका छौँ।’ आफूहरूले प्रधानमन्त्रीले बोलेका कुराको सत्यता के हो भन्ने मात्र माग गरिरहेको झाको भनाइ छ।

आफूहरू भिन्न शक्ति भएकाले अन्य दलसँग तुलना गर्न नमिल्ने रास्वपाका नेताहरू बताउँछन्। देशका जल्दाबल्दा केही मुद्दामा प्रतिपक्षी दलको भूमिका समान भए पनि केही मुद्दामा दलहरूका आआफ्नै मान्यता हुने उनीहरू बताउँछन्। सोही कारण प्रधानमन्त्री प्रचण्डको राजीनामा नमागेको उनीहरूको भनाइ छ। प्रधानमन्त्रीको राजीनामा माग्ने तर विकल्प दिन नसक्ने हो भने त्यसको औचित्य नहुने रास्वपाको बुझाइ छ।

‘हामी अहिले नै प्रधानमन्त्रीको राजीनामा  माग्दैनौँ,’ रास्वपा महामन्त्री मुकुल ढकालले भने, ‘प्रधानमन्त्रीको राजीनामा माग्न विकल्प दिनुपर्ने हुन्छ। एमालेले  विकल्प दिन सक्छ भने राजीनामा माग्न सकिन्छ।’

संसद्‌मा रास्वपा फरक रूपमा प्रस्तुत भइरहेको छ। संसद्को वार्षिक क्यालेन्डर बनाउने, हरेक विधेयकलाई घनीभूत छलफल गर्नुपर्ने जस्ता विषयमा रास्वपाको विशेष चासो छ।

यसअघि प्रधानमन्त्री भारत भ्रमणबाट आउँदा रास्वपाले एमालेकै शैलीमा प्रचण्डको आलोचना गरेको थियो। एमालेका सांसदले प्रधानमन्त्रीलाई ‘मुर्रा’ भैँसी दान लिएर आएको प्रसंग ल्याउँदा रास्वपाका सांसदले ‘भैँसी चढेर आएको’ आरोप लगाएका थिए।

माओवादी सांसदले नियमापत्ति राखेपछि उक्त अभिव्यक्ति स‌सद् रेकर्डबाट हटाइएको थियो। यसै कारण पनि संसद्‌मा एमाले र रास्वपाको कामकारबाही एउटै जस्तो देखिन्छ।

प्रकाशित: २३ असार २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast