
काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको इतिहास लेखनका लागि यहाँको भाषा, संस्कृति र साहित्यको खोज आवश्यक रहेको बताएका छन्।
आज महोत्तरीको बर्दिबास–४ माईस्थानमा मधेसको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय गोष्ठी शुभारम्भ गर्दै उनले यी विषय मधेसको इतिहास लेखनमा अपरिहार्य तत्व रहेका उल्लेख गरे।
मधेस प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले यस क्रममा पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको मधेसका सबै जातजाति, भाषाभाषी र संस्कृतिको प्रामाणिक तथ्य खोज्न अनुरोध गरे।
‘हाम्रो विगतका जे–जस्ता उत्पीडन र शोषणका घटना छन्, ती जस्ताको त्यस्तै खोजिउन्, लेखिउन्’, अध्यक्ष यादवले भने, ‘यिनमा कोच, मिथिला, लुम्बिनी (अवध) र पश्चिम थारूका प्राचीन परम्परा कुनै नछुटुन्।’
उनले इतिहास लेखनका क्रममा मधेसका विभिन्न क्षेत्रमा फरक–फरक भाषा र चालचलनको खोजी गर्न पनि विज्ञहरूसँग आग्रह गरे।
कार्यक्रममा अधिकारकर्मी तथा राजनीतिक विश्लेषक विजयकान्तलाल कर्णले इतिहास लेखनका लागि अभिलेख, शिलालेख, ताम्रपत्र, प्राचीन मुद्रा र जनश्रुतिहरू प्रामाणिकताका मुख्य आधार हुने औँल्याए।
यसैगरी भारतीय प्राज्ञ अयोध्यानाथ झाले नेपालको मधेस भूभाग र भारतको बिहारका रीतिथिति, संस्कृति, भाषा, लवाइखुवाइ र रहनसहन मिल्दाजुल्दा रहेका हुँदा यी सबैको खोजी हुन आवश्यक रहेको बताए।