भानुभक्त जन्मजयन्ती ३ दिनसम्म मनाइने

हिमाल प्रेस २२ असार २०८० १२:२५
6
SHARES
भानुभक्त जन्मजयन्ती ३ दिनसम्म मनाइने
तनहुँ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती तनहुँमा ३ दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकायरी निर्देशक शंकर रानाभाटले जानकारी दिए।
उनका अनुसार नेपाली साहित्यको  प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगितामा देशभरका साहित्यकारलाई निम्तो गरिएको बताए।
खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय  हुनेलाई क्रमशः १० हजार, सात हजार र ५ हजार पुरस्कार प्रदान गरिनेछ। यस्तै रामायण वाचनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र १ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागिताका लागि इमेलबाट पनि कविता पठाउन सकिने व्यवस्था गरिएको छ। [email protected] मा पठाउन सकिने आयोजकले जनाएको छ। उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मानसमेत गरिने छ।
जन्मजयन्तीको कार्यक्रममा बालन, कुमालका पाउदुरे र मगरका कौराह नृत्य प्रदर्शन गरिने अध्यक्ष ऋषिराम पन्तले जानकारी दिए।
छायांकन हुँदै आदिकविसम्बन्धी गीत
‘भानुभक्त आचार्य हुन् नेपालका आदिकवि
साहित्यका शिखरको चहकिलो रातो छवि
रामायण लेखे उनले, अकविता मेटे उनले
साहित्यको यौटा नयाँ मूल बाटो भेटे उनले
तनहुँका डाँडाकाँडा त्यसै पनि हराभरा
भानुभक्त जन्मेपछि मुस्कुराई वसुन्धरा’
यो गीत राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यबारे ८२ वर्षीय गायक रामबाबु सुवेदीले लेख्नुभएको र गीत गाएका हुन्।
भानुभक्तको क्षेत्र र उनका कृतिलाई सदैव जीवन्त राख्नका लागि गायक सुवेदीले भानुभक्तसम्बन्धी बालगीत गाएका हुन्।
बालबालिकाबाट नै आदिकविको संरक्षण र प्रवर्द्धनमा जोड दिनसके उनी सदैव जीवन्त रहने उनको बुझाइ छ।
माया, पिरती, बिछोडका गीतमा बालबालिकालाई सहभागी गराउनुभन्दा उनीहरूको उमेरलाई सुहाउँदो गीतमा सहभागिता गराउँदा उनीहरूमा सकारात्मकता विकास हुने उनले बताए।
उक्त गीत २१०औं भानु जयन्तीको अवसरमा सार्वजनिक गर्ने गरी भानुभक्तको गीतमा स्थानीय १२ बालिकालाई सहभागी गराइएको निर्देशक आचार्य गोपालले जानकारी दिए।
‘बालबालिकालाई बालगीतमा सहभागी गराउनुपर्छ भन्ने उद्देश्यले गीत छायांकन गरिएको छ, बालबालिकाको आफ्नै उमेर सुहाउँदो गीतमा नाच्न र गाउन सिकाउनुपर्छ भन्ने हेतुले गीतको छायांकन गरिएको हो,’ उनले भने।
राष्ट्रिय विभूति आदिकवि भानुभक्तलाई उक्त गीतले जीवन्त राख्ने उनको भनाइ छ। भानुभक्तकै जन्मस्थलमा छायांकन गरिएको उक्त गीत यही असार २९ गते २१०औं भानु जन्मजयन्तीका अवसरमा सार्वजनिक गरिनेछ।
प्रकाशित: २२ असार २०८० १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast