काठमाडौँ- प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने तयारी गरेका छन्।
आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले राजीनामा मागेपछि प्रधानमन्त्रीले संसद्मा जवाफ दिन लागेका हुन्।
आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरूले संसद् बैठक चल्न दिएका छैनन्।
एमालेले जवाफ नभई अब राजीनामा दिनुपर्ने अडान लिँदै आएको छ भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आएको छ।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले संसद्मा प्रधानमन्त्रीले जवाफ दिएर अघि बढ्ने निर्णय गरेको थियो। तर संसद् सचिवालयले भने प्रधानमन्त्रीले बोल्ने विषयमा कुनै जानकारी नआएको जनाएको छ।
सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीले बोल्ने औपचारिक जानकारी अहिलेसम्म नआएको र आउनेवित्तिकै उहाँलाई समय उपलब्ध गराउने बताए।
आफूहरूलाई प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएकाले संसद् बैठक कुनै हालतमा चल्न नदिने एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए।