काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा निरन्तर अवरोध गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
बिहीबारको बैठकको सुरुमै बोल्दै एमाले सांसद भैरव सुन्दर श्रेष्ठले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबाट नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए। उनले बोलेसँगै एमाले सांसदहरूले उठेर अवरोध गरिरहे।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पटकपटक बस्न उनीहरूलाई आग्रह गर्दा पनि एमाले सांसदहरूले निरन्तर अवरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले भोलि १२:२९ सम्मका लागि बैठक स्थगित भएको घोषणा गरे।
असार १८ गते प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटकपटक दिल्ली गएको बताएका थिए। प्रधानमन्त्रीको प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरोध गरेको थियो।