काठमाडौँ- कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आज (बिहीबार) सकिँदैछ। प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय साँझ ५ बजे सकिँदैछ।
एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख खापुङले गत आइतबार पाँच दिनको समय दिएर सरकार गठनको आह्वान गरेका थिए।
प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अन्तर्गत मुख्यमन्त्री नियुक्तिका लागि दिएको सीमा तोकेका थिए। केन्द्रीय सत्तारुढ गठबन्धनका दलहरूले नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेका छन्। तर अहिलेसम्म थापाको नेतृत्वमा बहुमत पुगेको छैन।
कांग्रेसलाई राप्रपाले समर्थन नगर्दा बहुमत पुग्ने देखिँदैन। बहुमतका लागि ४७ सांसदको समर्थन चाहिने भए पनि कांग्रेस नेतृत्वको गठबन्धनमा ४६ सांसद मात्रै छन्।
त्यसैले कांग्रेस-माओवादीसहित गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई समेत जोडेर नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन्।
यता एमालेले भने सभामुखलाई जोड्ने कुराको सशक्त विरोध गरिरहेको छ। एमालेले सभामुखलाई समेत जोडेर संख्या पुर्याउनु संविधानविपरीत रहेको बताइरहेको छ। तर सत्ता गठबन्धनमा एक सिट नपुग्दा सभामुखको मत निर्णायक जस्तो देखिन्छ।
कोशीमा एमाले सबैभन्दा ठूलो पार्टी हो। एमाले मात्रैको ४० सिट छ। कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी ४७ मत नै छ।
विश्वासको मत प्रयोजनका लागि बराबरी भएको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिन पाउँछन्।
विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको नेतृत्वमा सरकार गठन हुनेछ।