लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर संकलन सुरु

हिमाल प्रेस २० असार २०८० १७:२१
4
SHARES
लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर संकलन सुरु

पोखरा- लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गर्दै लेखनाथबासीले हस्ताक्षर अभियान सुरु गरेका छन्। बुधबार लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा आयोजित समारोहबीच हस्ताक्षर अभियान सुरु गरिएको हो। उनीहरूले पोखरा महानगरपालिकाबाट छुट्याएर साविकको लेखनाथ नगरपालिका पुनर्स्थापनाको माग गरेका छन्।

एकजना अभियन्ता सञ्जीव पौडेलले विकास निर्माण तथा बजेटमा पोखरा महानगरपालिकाले लेखनाथ क्षेत्रलाई हेपेको बताए। ‘हामीहरू लेखनाथ नगरपालिकाकै पुनर्स्थापना अभियानमा अघि बढ्यौँ,’ उनले भने, ‘अब अभियान रोकिँदैन। विकासको नयाँ मोडल स्थापित गर्न लेखनाथ नगरपालिका आवश्यक छ।’

लेखनाथ नगरपालिका पोखरा महानगरमा गाभिएपछि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रममा पटकपटक बेवास्तामा परेको र पछिल्लो समय लेखनाथलाई डम्पिङ साइट बनाइएको स्थानीयको गुनासो छ।

लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवसमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थिति रहेको कार्यक्रमबीच हस्ताक्षर अभियान थालिएको हो।

विगतमा लेखनाथ नगरपालिकाको नामबाट चिनिएको लेखनाथ क्षेत्र पोखरामा गाभिएपछि महानगर बन्यो तर विकास, बजेट र कार्यक्रममा पछाडि परेपछि अब छुट्टिने अभियानमा रहेको संघका एक सदस्यले बताए। विगतमा विभिन्न मञ्चहरूमा गुनासो गर्दै आएका लेखनाथबासीले बुधबारदेखि अभियान नै सुरु गरिएको र अब नरोकिने बताएका छन्।

‘स्वायत्त लेखनाथ अभियान’ नाम दिइएको उक्त अभियानमा पहिलो दिन करिब ३ हजार हस्ताक्षर संकलन गरिएको छ। १ लाख हस्ताक्षर संकलनको लक्ष्य रहेको सो अभियानलाई निरन्तरता दिन प्रत्येक शनिबार विभिन्न चोकचोकमा हस्ताक्षर संकलन गर्ने योजना रहेको अभियान्ताहरूले बताएका छन्।

विगतमा भरतपोखरी सिंगो गाविस थियो। वडा नम्बर ३३ अन्तर्गत पर्ने भरतपोखरी पोखरा महानगरपालिकामा गाभिएको हो। क्षेत्रफलका हिसाबले यो वडा सबैभन्दा ठूलो छ।

साविक लेखनाथका १८ वडा पोखरामै गाभिएका हुन्। पोखरा वडा नम्बर २६ देखि ३३ सम्मका वडा विगतमा लेखनाथ नगरभित्र थिए। २०५८ सालमा स्थापना भएको लेखनाथ नगरपालिकाका पहिलो नगर प्रमुख शालिकराम पौडेल हुन्। लेखनाथको छिमेकी रुपा गाउँपालिकाको बजेट बर्सेनि अर्ब रुपैयाँ हाराहारीको आउँदा लेखनाथले पोखरा महानगरकै मुख ताक्नुपर्ने अवस्था छ।

प्रकाशित: २० असार २०८० १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast