काठमाडौँ- मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा बेलिब्रिज निर्माण सुस्त भएको छ। एक सातामा निर्माण सम्पन्न गर्ने गरी सुरु गएको बेलिब्रिज तीन साता हुँदा पनि सम्पन्न भएको छैन।
यही असार २ गतेको बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेवल पुल बगाएसँगै अहिले मेची राजमार्ग अवरुद्ध भएको छ। तीन सातासम्म मेची राजमार्ग अवरुद्ध हुदाँ ताप्लेजुङ जिल्लावासी समस्या खेप्नु परेको छ।
तीन साता भइसक्दा पनि पुनः सञ्चालन आउन सकेको छैन। पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालीकासँग सडक सम्पर्कविच्छेद भएको छ।
बाढीले पुल बगाएपछि बनाउन थालिएको बेलिब्रिज अझै सकिएको छैन्। सुरुमा एकहप्तामै सकिने हल्ला गरिए पनि तीन साता वितिसक्दा पनि अझै कहिले सकिएला भन्ने अन्योलता देखिएको छ।
केही पटक ‘ड्राइबर्सन’बाट गाडी तारिएको छ, भने फड्के बनाएर आवतजावत हुदैँछ। बेलिब्रिज बन्न ढिलो हुँदा यो क्षेत्रका बासिन्दाले ठूलो सास्ती खेपिरहेका छन्।
पुल बगाएकै दिन सरकारले तत्काल बेलिब्रिज हाल्ने निर्णय गरेको थियो । त्यही दिन प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रदेश प्रमुख जिल्ला आएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल निरीक्षणमा आउँदा प्रतिकूल मौसमका कारण हेलिकप्टर बस्न सकेन। केही दिन अगाडि मात्र विभागीय प्रमुखसँग भौतिक पूर्वाधारमन्त्री प्रकास ज्वालाले स्थलगत अवलोकन गरेका थिए। संघीय सरकारले नै निकै चासो राख्दा पनि हालसम्म राजमार्ग सञ्चालन आउन सकेको छैन।
अहिले ताप्लेजुङमा खाना पकाउने ग्यास, खाद्यान्न लगायका सामग्री अभाव भइसकेको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले बताए। लामो समय राजर्माग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लामा खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसकेको ताप्लेजुङ उद्योग वाणिज्य संघले जानएको छ।
सरकारले सम्पूर्ण शक्ति लगाएर काम सक्नुपर्ने हो तर १८ दिन वित्तिसक्दा पनि बेलिब्रिज सञ्चालनमा नआउँदा दैनिक हजाराँंको संख्यामा यात्रुलाई सास्ती खेप्नु परेको छ। छिटोभन्दा छिटो बेलिब्रिज बनाउनका लागि प्रयास भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।
उनले भने, ‘बेलिब्रिज बनाउने काम नागरिक अपेक्षाअनुसार केही ढिला भएकै हो। आवश्यक सामग्री समयमै पुर्याएका थियौँ। फाउण्डेसन बनाउननै बाढीले समस्या गरायो।’
जतिसक्दो छिटो काम सम्पन्न गर्न सबै हिसाबले लागेका छौँ । सडक विभागका अनुसार बढीमा एक हप्तामा काम सकिने निर्माणमा भइरहेको छ ।
फड्के पुलबाट यात्रा
मेची राजमार्ग अन्तर्गत फिदिम ताप्लेजुङ खण्डको हेवा खोलामा बाँसको फड्के सञ्चालनमा आएसँगै यात्रुहरूलाई केही सहज भएको छ। तत्कालका लागि यात्रु आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिबारबाट सञ्चालनमा आएको हो।
गत आसर २ गते बाढीपहिरोले मोटरेबल पुल बगाएपछि ताप्लेजुङ जिल्ला सडक सञ्जालले टुटेको छ। ताप्लेजुङबाट अन्य जिल्ला जानसमेत असहज भएसँगै हेवा खोलामा फड्के पुल सञ्चालनमा आएपछि यात्रुलाई केही राहत मिलेको छ। पाँचथरका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, व्यवसायी, युवाको सक्रियतामा फड्के पुल बनेको हो।
मुख्य गरेर फिदिम ओदिनस्थित नेपाली सेनाको रणशेर गणका माउण्टेन वारफेयर विशेषज्ञ समूहको प्राविधिक सहयोगमा फड्के बनाइएको हो। बाँसका साथै बिजुलीको तार, नट प्रयोग गरेर बनाइएको फड्के निर्माणमा युवा सङ्घ पाँचथरको पनि सहयोग रहेको जनाइएको छ।
फड्के पुलको सहयोगले गाडीमार्फत वारिपारिसम्म आइपुग्ने यात्रुलाई आ-आफ्नो गन्तव्य पुग्न तरेर जान केही सहज भएको छ । मेचीमार्गको फिदिम-ताप्लेजुङ खण्डमा दुई सय बढी निजी तथा भाडाका गाडीबाट दुई हजारसम्म यात्रुले यात्रा गर्ने गर्छन्।
हेवाखोला पुल बगाएपछि यात्रुलाई असुविधा पुगेको थियो। फड्के पुल बनेपछि यात्रुलाई धेरै राहत पुगेको छ। फड्के तर्ने यात्रुलाई वारीकाले वारीबाटै र पारिकाले पारिबाट उठाएर गन्तव्यतर्फ लगिदिन थालेका छन्।
यहाँ सडक डिभिजन इलामबाट बनिरहेको बेलिब्रिज निर्माण सम्पन्न नहुदाँसम्म यात्रुलाई यात्रा गर्नमा फड्केले सहजीकरण गरिदिने विश्वास गरिएको छ। बेलिब्रिज बन्न एक महिना लाग्ने बताइएको छ। हेवाखोलामा तत्कालमा डाइभर्सनको व्यवस्था गरेर गाडी ओहोरदोहोर गराउने प्रयास पनि भइरहेको छ।