अखिल क्रान्तिकारीमा फेरि चुलियो विवाद

हिमाल प्रेस २० असार २०८० १२:४८
726
SHARES
अखिल क्रान्तिकारीमा फेरि चुलियो विवाद

काठमाडौँ-  सत्तारूढ नेकपा माओवादी केन्द्रको विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीको आन्तरिक विवाद पुनः सतहमा आएको छ। क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले बोलाएको भेलालाई अर्को समूह पवन कार्कीले बहिष्कार गर्ने भएको हो।

संगठनले बोलाएको क्रान्तिकारी स्ववियु काउन्सिलको तेस्रो राष्ट्रिय भेला बहिष्कार गरिने कार्कीले विज्ञप्तिमार्फत जनाएका हुन्। संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथि बनाएर तेस्रो राष्ट्रिय भेला गर्न लागेको छ। दुईदिने भेला आज उद्घाटन हुँदैछ।

कार्की समूहले संगठनको अधिवेशन बोलाउन माग गरेको छ। तर पार्टी नेतृत्व कार्की समूहको माग पूरा गर्न तयार देखिएको छैन। यसअघि पार्टी बैठकबाटै क्रान्तिकारीका दुवै समूह विघटन गरिएको थियो। तर पछि पार्टीले नै संस्थापन समूहलाई ब्युँताएको हो। यसै कारण पनि कार्की समूह आक्रामक देखिएको छ।

कार्की समूहले सिंह संगठनको नेतृत्व लिन अयोग्य रहेको आरोप लगाउँदै आएको छ। सिंहले आर्थिक हिनामिना गरेको आरोप समूहको छ।

यसरी बढ्यो तिक्तता

क्रान्तिकारीमा विवाद राष्ट्रिय सम्मेलनबाटै सुरु भएको हो। बन्दसत्र सुरु भएलगत्तै केही प्रतिनिधिले सिंहलाई अध्यक्ष नमान्ने भन्दै विवाद गरेका थिए। नाराबाजी र तोडफोड भएपछि घोषणासभा अनिश्चित बनेको थियो।

केही दिनपछि प्रचण्डले सिंहलाई अध्यक्ष चयन गरे। पदाधिकारी चयन नभएपछि  विवाद चुलिँदै गएको थियो।

अध्यक्ष सिंहले २०७८ मंसिर २७ गते ३ जना केन्द्रीय सदस्यको नाम खाली राखेर १९९ सदस्यीय केन्द्रीय समिति सदस्य तय गरिन्। उनले ३९ सदस्यीय केन्द्रीय आयोग, ५६ सदस्यीय केन्द्रीय प्रतिनिधि, विशेष प्रदेशसहित ८ वटा प्रदेश कमिटीका पदाधिकारी बनाएकी थिइन्।

त्यसपछि २०७८ पुस ७ गतेका लागि अध्यक्ष सिंहले प्रथम पूर्ण बैठक प्रज्ञा प्रतिष्ठान कमलादीमा बोलाएर शपथ गराइन्। संगठनको दोस्रो पूर्ण बैठक २०७९ वैशाख ३ र ४ गते बस्यो। पार्टी अध्यक्ष प्रचण्ड र विद्यार्थी इन्चार्ज हितमान शाक्य उपस्थित बैठकले महासचिव दीपेश पुनलाई चयन गर्दै १९ उपाध्यक्ष रहने गरी ४१ सदस्यीय पदाधिकारी गठन गर्‍यो भने केन्द्रीय समिति १९९ बाट २९९ पुर्‍याइयो।

२०७९ असार ५ गते बसेको तेस्रो विस्तारित बैठकमा नेतृत्व चयनमा असन्तुष्ट रहेको समूहले बैठक हलमा विधि विधान लागू गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुटसम्म भएको थियो। कार्की पक्षले पत्रकार सम्मेलन गर्दै अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गरेर विशेष महाधिवेशन गर्न पार्टी नेतृत्वसँग माग गर्‍यो। संगठनको प्रतिकूल हुने गरी गतिविधि गरेको आरोपमा सिंहले उपाध्यक्ष  कार्कीसहित केन्द्रीय सदस्य वसन्ता भण्डारी, प्रवीण बस्नेत, सञ्जीव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, पदम नेपाली, रविन बस्नेत, समीर बुढाथोकी गरेर १० जनालाई अनिश्चितकालका लागि निलम्बन गरेको थियो।

संगठनले निलम्बन गरेको केही दिनपछि असोज १५ गते असन्तुष्ट पक्षले अध्यक्ष सिंहले विधानअनुसार काम नगरेकाले अवैध कमिटी खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनमा जानुपर्ने मागसहित कार्कीको नेतृत्वमा १९९ सदस्यीय अलग्गै समानान्तर कमिटी घोषणा भयो । त्यसपछि संगठन औपचारिक रूपमा फुटेको थियो।

पार्टीले विद्यार्थी इन्चार्ज हितमान शाक्यलाई विवाद समाधान गर्न निर्देशन दिए पनि उनी पन्छिएका थिए।  विवाद समाधानका लागि पूर्वविद्यार्थी नेता रमेश मल्लको संयोजकत्वमा गठित तीन सदस्य कार्यदलले  कार्यदलले ‘विद्यार्थी मात्र नभई नेताको समेत सहभागिता भएको’ निष्कर्ष निकाल्यो। अध्यक्ष प्रचण्डले समेत विवाद समाधानका लागि प्रयास गरे। तर सम्भव भएन। सिंहमाथि नैतिक प्रश्न उठाउँदै समानान्तर गतिविधि गर्न थालेकाले पार्टीले बन्देज लगाएको हो।

प्रकाशित: २० असार २०८० १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =