
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर नेकपा एमालेले आपत्ति जनाएको छ। भारतीय नागरिकले आफूलाई प्रधानमन्त्री बनाएको अभिव्यक्ति दिएका प्रचण्डको भाषणलाई लिएर एमाले असन्तुष्ट बनेको हो।
यसै विषयमा छलफल गर्न एमालेको संसदीय दलको बैठक दिउँसो १ः३० मा सिंहदरबारमा बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्नेछ।
संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका बारेमा संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा निर्णय हुने पार्टीका एक नेताले बताए। ती नेताका अनुसार संसद् अवरोध पनि हुन सक्छ। एमाले संसदीय दलका सचेतक महेश बर्ताैलाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रको स्वाधीनताविरुद्ध रहेको बताए।
एमाले नेता विष्णु रिमालले आफूलाई विदेशीले प्रधानमन्त्री बनाएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौम संसद्को शिर झुकेको बताए। उनले भनेका छन्, ‘हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नैपर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ? यसपालिचाहिँ तपाईँलाई प्रधानमन्त्री कसले बनाएको हो? हामीलाई विश्वास छ, संसद्ले हाम्रो प्रतिनिधित्व गर्छ।’
प्रधानमन्त्री प्रचण्डले सोमबार एक कार्यक्रममा भारतको जम्मुबाट नेपाल आएका व्यवसायी सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटकपटक दिल्ली गएको बताएका थिए। यसबारे राष्ट्रियसभाको मंगलबार बसेकाे बैठकमा सांसदहरूले आपत्ति जनाएका थिए।