फेरि चर्कियो धरान-इटहरी सीमा विवाद

विवेक विवश रेग्मी १९ असार २०८० ११:३३
46
SHARES
फेरि चर्कियो धरान-इटहरी सीमा विवाद धरानसँग सीमा प्रारम्भ लेखिएको बोर्ड हटाउँदै इटहरीका नगर प्रहरी तथा कर्मचारी।

-इटहरी उपहानगरपालिका र धरान उपमहानगरपालिकाबीच सीमाका विषयमा विवाद भएपछि २०७४ सालमा धरान उपमहानगरपालिकाकी तत्कालीन कार्यवाहक प्रमुख मञ्जु भण्डारी र इटहरीका तत्कालीन प्रमुख द्वारिकलाल चौधरीबीच छलफल भयो।

-२०७६ सालको उपनिर्वाचनमा धरानको मेयरमा निर्वाचित भएका तिलक राईको कार्यकालमा धरान र इटहरीको सीमाबारे विवाद उत्कर्षमा पुग्यो। तर, सीमा विवाद टुंगिएन।

-गत वैशाख १० गते धरानका मेयर हर्क साम्पाङले इटहरी उपमहानगरपालिका-२० पानीपिया क्षेत्रमा सीमा प्रारम्भको बोर्ड लगाए। तत्कालै एमाले निकट युवा संघले बोर्ड उखेलेपछि विवाद चर्कियो। इटहरी-धरानबीच पटकपटक छलफल गर्ने प्रयास गरिए पनि सफल भएको छैन।

धरान र इटहरीबीच पछिल्लो समयमा भएका सीमा विवादका प्रसंग हुन् यी। त्यसअघि २०६६ सालमा पनि सीमाबारे विवाद भएको थियो। वैशाख १० गते हटाइएको बोर्ड धरानले सोमबार लगाएपछि यति बेला पनि दुई स्थानीय पालिकाबीचको विवाद उत्कर्षमा पुगेको छ। धरान नगर प्रहरी विष्णु कोइरालाको नेतृत्वको टोलीले सेउती खोलामा राखिएको नेपाल प्रहरीको बोर्ड पनि हटाएको हो।

इटहरी र धरान प्रहरीले आफ्नो सीमा क्षेत्र प्रारम्भ भएको बोर्ड सेउती खोला वारि र पारि राखेका थिए। प्रहरीको उक्त बोर्डले पनि धरान र इटहरी उपमहानगरको सीमा भएको भन्ने भ्रम सिर्जना गरेको भन्दै मेयर साम्पाङले हटाउन निर्देशन दिएका थिए।

मेयर साम्पाङले धरान र इटहरीको सीमा क्षेत्र पानीपिया नै भएकोले बोर्ड राखिएको प्रतिक्रिया दिए। उनले यसअघि आएको विवादबारे जिल्ला समन्वय समितिलाई लिखित जानकारी गराए पनि कुनै चासो नदिएको आरोप लगाएका छन्।

धरानका पूर्वमेयर तिलक राईले विवाद झिक्ने बेला नभएको बताए। ‘अहिले सीमाको कुरा निकाल्ने बेला नै होइन, बजेटको काममा लागेपनि भयो,’ उनले हिमाल प्रेससँग भने, ‘इटहरी धरान सीमा विवादको कुरा शताब्दीदेखिकै हो। समाधान गर्ने विधि र प्रक्रिया छ। अरू विषय नपाएर त्यसैलाई प्राथमिकता दिएजस्तो देखियो।’

उनले सम्बन्धित निकायले समय निकालेर दुवै क्षेत्रका सरोकारवालहरूसँग छलफल गरी समस्या सुल्झाउनुपर्ने सुझाव दिए। धरानले यसअघि देखि नै सीमाको दाबी गरेको र संघ, प्रदेश सरकारले पनि सोही क्षेत्रअनुसारको बजेट पठाइरहेको उनले बताए। ‘अहिले नै इटहरी र धरानले सीमा प्रारम्भ र आरम्भको बोर्ड लगाइहाल्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘धरानको क्षेत्र तलै (पानीपिया) हो, सबैलाई थाहा छ। तर विवाद झिक्नु निरर्थक छ।’

समस्या भए पनि समय निकालेर विवाद टुंगोमा पुर्‍याउन आवश्यक रहेको उनको भनाइ छ। उनले अहिले नै कुनै पालिकाले पर्खाल लगाइनहाल्ने पनि बताए । राईले भने, ‘समस्या समाधान गर्नुपर्छ। तर अहिले त्यो समस्या उजागर गर्ने र नागरिकमा द्वेष पैदा गर्ने काम गर्नु हुँदैन।’

२०१० सालभन्दा अगाडिबाट इटहरीको सीमा सेउती पुल रहेको ऐतिहासिक तथ्य रहेको इटहरीको दाबी छ। धरान उपमहानगरपालिकाका योजना तथा इन्जिनियरिङ महाशाखा प्रमुख एवं वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ पनि आधिकारिक नक्सामा धरानको सीमा पानीपिया नै रहेको बताउँछन्। उनले सेउती पुललाई प्रहरीको इलाका प्रहरीको सीमा तथा सामुदायिक वन समितिले निर्धारण गरेको सीमा क्षेत्र भएकाले उपमहानगरलाई त्यो आधिकारिक नहुने बताए।

इटहरी उपमहानगरपालिकाले २० नम्बर वडास्थित पानीपियाभन्दा ३ सय मिटर माथि उल्लेख गरिएको नक्सा प्रकाशित गरेको छ। धरान उपमहानगरपालिकाले पनि आफ्नो आधिकारिक नक्सामा मन्त्रालयले जारी गरेको नक्सालाई नै आधार बनाएको छ। सोही आधारलाई मान्दै धरान नगरले सीमा बोर्ड पानीपियाभन्दा तीन सय मिटर माथि राख्दै आएको श्रेष्ठको दाबी छ।

समिति बनाएर समाधानको तयारी

जिल्ला समन्वय समिति सुनसरीका संयोजक राजन मेहताले समिति गठन गरेर सीमा समस्या समाधानका लागि पहल गर्न लागिएको जानकारी दिए। ‘हामी समस्या समाधानका निम्ति समिति नै बनाउँछौँ,’ उनले भने, ‘समितिले छानबिन गरेर दुवै पालिकाका मेयरसँग राखेर छलफल गराई समस्या समाधानका लागि प्रयास गर्नेछ।’

उनले सीमा विवादको वास्तविकता बुझेर प्रमाण जुटाइरहेको बताए। ‘पुरानो गाविसका पनि सीमा क्षेत्र अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘मंगलबार नै समिति बनाएर त्यो समितिले काम गर्नेछ।’ उनका अनुसार दुवै उपमहानगर भएकाले यसअघि इटहरीमा गाभिएको हाँसपोसा गाविसको सीमा अध्ययन गर्ने र दुवै पालिकाका मेयरसँग छलफल गरिनेछ।

प्रकाशित: १९ असार २०८० ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast