मुग्लिन–नारायणगढको पहिरोले सम्झाउँछ घुमाउनेको पुल

हिमाल प्रेस १७ असार २०८० १५:३१
14
SHARES
मुग्लिन–नारायणगढको पहिरोले सम्झाउँछ घुमाउनेको पुल

दमौली– केही दिनयता मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा पटकपटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन्।

यो ठाउँमा गइरहेको पहिरोले तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अलपत्र पुललाई फेरि एकपटक सम्झाएको छ। आँबुखैरेनी–५ र भरतपुर–२९ जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो। पोखरा जाने गाडी त्यहीँबाट सिधै दमौली आउजाउ गर्थे।

पहिरोका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था पनि आउँदैनथ्यो। मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिं मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न पाउँथे। त्यस्तै पोखरातर्फबाट आउने यात्रु डुम्रे–आँबुखैरेनी नभई बुद्धसिं मार्ग भएर पुल तरेर भरतपुरको घुमाउने निस्किन पाउँथे।

९ वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ। पिल्लर पनि पूरा भएको छैन। उक्त ठाउँमा पुल निर्माण अलपत्र हुँदा मुग्लिन–नारायणगढ खण्डमा पहिरो जाँदा घन्टौँसम्म यात्रु अलपत्र पर्ने अवस्था छ।

भरतपुर घर भई दमौलीमा बसोबास गर्दै आएका प्रकाशचन्द्र भट्टराईका अनुसार पुल समयमै पूरा गर्न सकेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा उक्त मार्ग विकास हुने थियो। उनले भने, ‘यो पुललाई देखाएर धेरैले राजनीति गरे, तर काम गराउनेतिर कसैले ध्यान दिएनन्।’ भट्टराई मोटरसाइकलमार्फत बुद्धसिंह मार्ग हुँदै झोलुङ्गे पुल तरेर यात्रा गर्दै आइरहेका छन्।

२०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो। ९ वर्षमा जम्मा ३० प्रतिशत मात्रै काम भएको छ। १०५ मिटर लम्बाइ रहेको पुलको लागत ९ करोड ५६ लाख रहेको छ। बारम्बार समय थप भए पनि पुलको कामले गति लिन नसकेपछि केही समय अगाडि तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उक्त पुलको स्थलगत अवलोकन गरेका थिए। तर पनि काम सुरु भएको छैन।

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले पनि चुनावअघि घुमाउने पुलको अवलोकन गर्दै यसलाई चाँडो निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गर्ने बताएका थिए।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको मोटरेवल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण भइरहेको छ।

पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ।
पृथ्वी राजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रेका लागि गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ। रासस

प्रकाशित: १७ असार २०८० १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast