धानको अर्थतन्त्र

किसानलाई सधैँ सिँचाइ र मलको समस्या

विवेक विवश रेग्मी १७ असार २०८० १२:०९
40
SHARES
किसानलाई सधैँ सिँचाइ र मलको समस्या धान रोप्न तयार पारिएको इटहरी पमहानगरपालिका–१८ स्थित खेत। तस्बिर : हिमालप्रेस

इटहरी- चर्को घाम लागिरहेको छ। इटहरी उपमहानगरपालिका-१८ का देवनारायण चौधरीको जिउ पसिनाले निध्रुक्क भिजेको छ। प्रचण्ड गर्मीको पर्बाह नगरी धान रोपाइँमा व्यस्त छन्। ‘सिँचाइ सुविधा नहुँदा आकाशेपानीको भरमा खेती गर्नुपर्छ। त्यसैले पानी पाएका बेला फुर्सद हुँदैन’, चौधरी भन्छन्, ‘राति पानी परेकै कारण खेतमा जमेको छ। धान रोप्न सजिलो भयो।’

सिँचाइ नभएकै कारण वर्षमा ६ महिना जति उनको खेत बाँझै हुन्छ। उनी भन्छन्, ‘एक बाली मात्रै फल्छ। सिँचाइ भएको भए दुई बालीसम्म धानखेती हुन्थ्यो।’  उनले भोग्नुपरेको अर्को समस्या हो रासायनिक मल अभाव। चौधरीले कान्छी मुन्सुली, रन्जितलगायत प्रजातिका धान लगाउँदै आएका छन्। त्यसमा युरिया र डीएपी मल प्रयोग गर्नुपर्छ। तर मल समयमै नपाउँदा सोजेजति उत्पादन हुन नसकेको उनको दुःखेसो छ।

पुर्खादेखि नै खेतीपातीमा निर्भर रहँदै आएका उनीसहित उनको परिवार कृषिमा आश्रित छ। ‘बुबाको सेखापछि खेतबारीमै समय बिताइरहेको छु। पेसा भन्नु यही खेती हो,’ चौधरी भन्छन्। उनीसँग खेतीका लागि पर्याप्त जमिन छैन। त्यसैले अधियाँमा पनि धानखेती गर्दै आएको उनले सुनाए। एक बिघाभन्दा बढी खेती अधियाँमा गर्दै आएका उनले यसबाट उत्पादित धानले वर्षभरि परिवार पाल्न पुग्ने बताए।

खेतीमा गर्न निकै दुःख रहेको उनी सुनाउँछन्। ‘खेती गर्न धेरै गाह्रो छ। अरू उपाय छैन, हातमा सीप छैन,’ चौधरी भन्छन्, ‘घरका सबै जना खट्नुपर्छ।’ पहिले जस्तो खेती गर्न सजिलो नभएको उनको बुझाइ छ। अहिले जताततै प्लटिङ गर्नेहरूका कारण समस्या देखिएको उनी बताउँछन्।

सुनसरीकै किसान कान्छा चौधरीले पनि खेतीकिसानी गरेको पाँच दशक बित्यो। एक बिघा जमिनमा खेती गर्दै आएका उनी रोपाइँकै चटारोमा छन्। आफ्नै जमिन भएका कारण उनले उत्पादन गर्दै आएको धान बिक्रीसमेत हुन्छ।

‘एक सय मनजति धान उत्पादन हुन्छ। ६० मनभन्दा बढी बिक्री हुन्छ,’ उनले भने, ‘बेच्न बजारसम्म पुगिरहनुपर्दैन, घरमै किन्ने मान्छे आउँछन्।’ बढीजसो किसानले रन्जित धान रोप्दै आएका छन्। एक हजारदेखि एक हजार पाँच सय रुपैयाँ मनसम्म बिक्री हुँदै आएको उनले बताए। उनले भने, ‘धानखेती गर्न सिँचाइको समस्या छ। व्यावसायिक खेती हुन छोड्दा पनि कठिन भएको छ। मल पाउन झन् गाह्रो हुन्छ।’

कोशी प्रदेशको सुनसरी, मोरङ र झापामा बढी धान उत्पादन हुँदै आएको छ। कृषि मन्त्रालय कोशी प्रदेशका प्रवक्ता पशुपति पोखरेलले दुई सिजनमा धान उत्पादन भइरहेको बताए। उनका अनुसार बर्खे र चैते सिजनमा धान उत्पादन हुन्छ। मन्त्रालयको तथ्यांकअनुसार कोशी प्रदेशमा अघिल्लो वर्ष बर्खे सिजनमा ३ लाख ३६ हजार हेक्टर जमिनमा १२ लाख ८२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। चैते सिजनमा ५७ हजार हेक्टर जमिनमा तीन लाख मेट्रिक टन धान उत्पादन भएको पोखरेल बताउँछन्।

‘तराईका जिल्लामा असार १५ गतेपछि बढी क्षेत्रमा रोपाइँ हुन्छ,’ उनले भने, ‘पहाडी जिल्लामा भने १५ दिनअघि बाटै रोपाइँ सुरु भएको छ। पहाडका सिञ्चित क्षेत्रमा चाहिँ अलिक चाँडैदेखि रोपाइँ हुन्छ।’ मनसुनका कारण पनि रोपाइँ गर्न समस्या भइरहेको उनले बताए। ‘बेलैमा मनसुन भयो भने धान उत्पादनका लागि समस्या हुँदैन,’ उनले भने, ‘हामीले नेपाल कृषि अनुसन्धानले जारी गरेको विभिन्न प्रजातिका धान उत्पादन गर्नका निम्ति कृषकलाई प्रोत्साहित गर्दै आएका छौँ।’

उनका अनुसार किसानले उत्पादन गरेको धान कोशी प्रदेशका लागि पर्याप्त छ। ‘आकाशबाट आएको पानीकै कारण धान रोप्न भर पर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘मनसुन बेलैमा हुँदा धान उत्पादनमा समस्या हुँदैन।’ उनका अनुसार रन्जित, कान्छी मन्सुली, जिरा मन्सुली लगायतका धान असार १५ पछि साउन पहिलो सातासम्म रोपिन्छ।

बासमती धान भने भदौ पहिलो सातासम्म रोपाइँ हुने पोखरेलले बताए। ‘कोशी प्रदेशमा ठूला चामल उद्योग छन्। यहाँबाट उत्पादन भएका धान अरु प्रदेशमा निर्यातसम्म हुन्छ,’ पोखरेलले भने, ‘धान, मकै, गहुँ सबै मिलाउँदा हामी ६ लाख मेट्रिक टन फाइदामै छौँ।’

यस वर्ष यति नै धान उत्पादन गर्ने लक्ष्य नभए पनि अघिल्ला वर्षभन्दा १० प्रतिशत बढी उत्पादन बढाउँदै जाने बताए। ‘पानी मजाले पर्दा सबै खेतमा धान लाग्छ,’ उनी भन्छन्, ‘धान उत्पादनलाई मनसुनले पूरै प्रभाव पार्छ।’

प्रकाशित: १७ असार २०८० १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast