नेपालको इतिहासमा प्रजातन्त्रिक पद्धतिबाट निर्वाचित हुने एक्ला प्रधानमन्त्री थिए, बीपी कोइराला। उनी करिब १८ महिना प्रधानमन्त्रीको कुर्सीमा रहे। त्यसपछि उनलाई राजा महेन्द्रको आदेशमा बर्खास्त गरेर जेल हालिएको थियो।
आक्रामक स्वभावका राजा महेन्द्र बीपीको सरकारसँग भएको शक्ति फिर्ता ल्याउन चाहन्थे। त्यसकारण उनले बीपीको जननिर्वाचित सरकारलाई अपदस्थ गरे।
प्रधानमन्त्री पद गुमाएपछि बीपीले धेरैजसो समय जेलमा बिताए। जेलमा नहुँदा उनी निर्वासनमा रहे। त्यो पनि खराब स्वास्थ्यका हुँदाहुँदै। जेल वा निर्वासनमा रहँदा पनि बीपीले प्रजातन्त्रको माग उठाइरहे।
बीपीका पिता गान्धीवादी थिए। जसको जेलमै मृत्य भएको थियो। बीपीको शिक्षादीक्षा भारतमा भएको थियो। उनले सुरुमा बनरास हिन्दु विश्वविद्यालयमा अध्ययन गरे। त्यसपछि सन् १९३७ मा कलकत्ता विश्वविद्यालयबाट कानुन विषयमा स्नातक/स्नातकोत्तर गरे। र, पश्चिम बंगालको दार्जिलिङमा निकै वर्ष वकालत गरे।
विद्यार्थी जीवनमा उनी भारतीय स्वतन्त्रतावादी आन्दोलनसँग जोडिएका थिए। सन् १९३४ मा उनी भारतीय कंग्रेस पार्टीको सदस्य बनेका थिए। दोस्रो विश्वयुद्ध चलिरहँदा उनलाई भारतमा रहेको बेलायती साम्राज्यवादी सरकारले दुई वर्षका लागि जेल हालेको थियो।
उनी रिहा हुँदा भारत स्वतन्त्रताको नजिक पुगिसकेको थियो। जब भारत बेलायती साम्राज्यवादको चंगुलबाट मुक्त हुने क्रममा थियो, बीपीले भने आफ्नो देशमा प्रजातन्त्रको पुनःस्थापनाका लागि लड्न पार्टी गठन गर्दै थिए। उनले सुरुमा नेपाली प्रजातान्त्रिक पार्टी गठन गरे। त्यही पार्टी सन् १९५२ मा नेपाली कांग्रेसमा परिणत भयो।
मजदुर आन्दोलनको नेतृत्व गर्न गृहनगर विराटनगर फर्किएका बीपी सन् १९४७ मा पक्राउ परेका थिए। उनी सन् १९४८ सम्म जेलमा रहे। एक वर्षपछि उनी फेरि थुनिए। तर उनलाई छोटो समयमै रिहा गरिएको थियो।
नौ महिनापछि बीपीले मन्त्री पद त्यागे। उनी अब नेपालमा राजनीतिक संरचना निर्माण अभियानमा व्यस्त भए। किनभने नेपाली समाजमा राजनीतिक पार्टीबारे चेतना जागृत हुँदै गइरहेको थियो।
रिहाइको माग राखेर उनी २७ दिनसम्म भोकहडतालमा बसेका थिए। फेरि उनलाई छुटाउन भारतीय प्रधानमन्त्री जवाहरलाल नेरुले पनि पहल गरेका थिए। बीपीको रिहाइका लागि देशभर भएका आन्दोलन त छँदै थिए।
नेपालमा एक सय चार वर्ष राणा शासन रह्यो। पुस्तौँसम्म राणा परिवारबाट प्रधानमन्त्री बने। सबै शक्ति आफ्नो हातमा लिए। सन् १९५१ मा भने राणा शासन ढल्यो। त्यसपछि नागरिक सरकारको हातमा सत्ता पुग्यो। त्यस सरकारको नेतृत्व बीपीका दाजु मातृकाप्रसाद कोइरालाले गरेका थिए। बीपी आफू भने गृहमन्त्रीका रुपमा रहे।
नौ महिनापछि बीपीले मन्त्री पद त्यागे। उनी अब नेपालमा राजनीतिक संरचना निर्माण अभियानमा व्यस्त भए। किनभने नेपाली समाजमा राजनीतिक पार्टीबारे चेतना जागृत हुँदै गइरहेको थियो। उसो त राजनीतिक पार्टी र त्यसअनुसारको व्यवस्थालाई राजाले पूर्ण रूपमा स्वीकार गरिसकेका थिएनन्। तर उनीमाथि कुनै न कुनै स्वरूपको राजनीतिक व्यवस्था स्वीकर गर्न जनदबाब परिरहेको थियो।
राजा महेन्द्रले बहुदलीय व्यवस्थासहितको संविधान ल्याए। त्यसअनुसार सन् १९५९ मा निर्वाचन हुने भयो। निर्वाचन गराउन सहमत हुँदा राजाले बीपी नेतृत्वको कांग्रेसले बहुमत ल्याउला भनेर सोचेका थिएनन्। तर भयो त्यस्तै। कांग्रेसले झण्डै दुई तिहाइ सिट जित्यो। निर्वाचन जितेको लामो समयसम्म कांग्रेसले सरकार गठन गर्न पाएन। अन्ततः राजा महेन्द्रले मे, १९५९ मा बीपीलाई सरकार गठन गर्न भने।
बीपीले सरकार गठन गर्नुलाई विश्व समुदायले ठूलो सफलता मान्यो। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर बीपी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा गए। त्यसपछि उनले चीन र भारतको भ्रमण गरे। सीमा समस्या हुँदाहुँदै पनि बीपीले छिमेकी देशहरुको भ्रमण गरेका थिए।
लोकतान्त्रिक सरकारको नेतृत्व गरेबापत विश्व समुदायमा चर्चा कमाएका बीपी घरभित्र भने अप्ठ्यारो स्थितिको सामना गरिरहेका थिए। उनको सरकारले ल्याएको भूमिसुधारको कानुनले जमिनदार वर्गलाई चिढ्याएको थियो। कर्मचारीतन्त्रको पुनः संरचना गर्ने उनको मनसायको पनि व्यापक विरोध भयो। हुँदाहुँदा दरबार र अदालतका अधिकार पनि कटौती हुँदै गए।
देशको पहिलो जननिर्वाचित सरकारले परम्परागत शक्तिहरुलाई धक्का दिन थालेपछि राजा महेन्द्र झस्किए। उनले १५ डिसेम्बर, १९६० मा संविधान निलम्बन गरे। संसद् भंग गरे। सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिए।
अनि बीपी र उनका साथीहरुलाई जेल हाले। अरु त केही महिनापछि छुटे, बीपीलाई भने सन् १९६८ सम्म जेलमै राखियो। त्यो पनि बिना अदालती प्रक्रिया। जिब्रोको क्यान्सरबाट पीडित बीपी जेलबाट रिहा भएपछि निर्वासन जीवन बिताउन भारतको बनारस गए।
सन् १९७२ मा नेपालले नयाँ राजा पायो। बेलायतमा पढेका वीरेन्द्रले पिता महेन्द्रको स्थान लिए। वीरेन्द्र राजा बनेपछि नेपालको राजनीतिक अवस्था केही हदसम्म सुध्रिएको अनुमान गर्न थालियो। त्यही सोचेर बीपी देश सन् १९७६ मा फर्किए। तर उनलाई तत्कालै पक्राउ गरिएको थियो।
सशस्त्र क्रान्ति सुरुवात गर्ने योजना बनाएको अभियोगमा उनलाई समातियो। विश्व समुदायको दबाबमा उनलाई उपचारका लागि अमेरिका भने जान दिइयो। अमेरिकाबाट फर्कनासाथ उनलाई फेरि पक्राउ गरियो।
सन् १९७७ मा पक्राउ परेका उनलाई मार्च, १९७८ मा छाडियो। उनीमाथि लगाइएका सबै मुद्दा खारेज भए। पछि बीपीले राष्ट्रिय मेलमिलापको नीति अघि सारे। सन् १९७९ मा विद्यार्थी आन्दोलनका बेला बीपीलाई घरमै नजरबन्दमा राखिएको थियो। राजा वीरेन्द्रले पटकपटक दुःख दिइरहे पनि बीपीले उनको आलोचना गरेनन्। बरु राजा वीरेन्द्रले जनमत संग्रह गर्ने निर्णय गर्दा बीपीले स्वागत गरे।
जनमत संग्रहमा राजा पक्षधर विजयी भयो। उनीहरुले धाँधली गरेर त्यो जनमत संग्रहको नतिजा आफ्नो पक्षमा पारेका थिए। बीपीले सन् १९८१ को निर्वाचन बहिष्कार गर्न आह्वान गरे। शक्तिविहीन बनेका बीपीको भाषण सुन्न अझै पनि ठूलो संख्यामा मानिस भेला हुन्थे। जनवरी, १९८२ मा काठमाडौँको रत्नपार्कमा भएको ठूलो जनसभालाई बीपीले सम्बोधन गरेका थिए।
त्यत्ति लामो समय राजनीतिक संघर्षमा बिताएका बीपी साहित्यकारका रूपमा पनि प्रख्यात थिए। विशेषगरी उनका उपन्यास र कथाले नेपालीको मन जितेका थिए। बीपीकै कारण हिन्दी भाषाले नेपालको साहित्यिक क्षेत्रमा प्रवेश पाएको थियो। जबकि त्यसबेलाको नेपालमा साह्रै सानो जनसंख्याले मात्रै हिन्दी भाषाको प्रयोग गर्थ्यो।
(द एन्युअल ओबिच्युरीबाट भावानुवाद, सन् १९८२ मा सेन्ट जेम्स प्रेस, लन्डनले छापेको ओबिच्युरी संग्रहका सम्पादक जानेट पोडेल हुन्।)