काठमाडौँ- नेपाली कांग्रेसले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जबाफदेहिता र विकास निर्माणका क्षेत्रमा देखिएको अनियमितता गरी सुशासनको प्रत्याभूति दिलाउन सरकारसँग विभिन्न १५ बुँदे ध्यानाकर्षण गराएको छ। पार्टी केन्द्रीय कार्यसमितिको बुधबार सम्पन्न बैठकले यी विषयमा गम्भीर सरोकार राख्दै तिनमा देखिएका समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको हो।
यस्ता छन् १५ चासो
अत्यावश्यक सेवा सर्वसुलभ
नेपाली कांग्रेसले राहदानी, राष्ट्रिय परिचय–पत्र, सवारीचालक अनुमतिपत्र लिने प्रक्रियामा सुधार गरी नागरिकलाई छिटोछरितो एवं सर्वसुलभ सेवा प्रदान गर्न सरकारसँग माग गरेको छ।
अर्थतन्त्र चलायमान
अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्त्वपूर्ण निर्णय लिन सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेस निर्णयमा उल्लेख छ, ‘बैंकिङ प्रणालीलाई सर्वसाधारणको पहुँचमा पुर्याउन व्यावसायिक तथा लगानीमैत्री वातावरण बनाउन प्रभावकारी रणनीतिक आर्थिक कदम चाल्न र सबै तप्काका नागरिकमा सरकारप्रति अभिभावकीय विश्वास जगाउन आवश्यक रहेकाले नेपाली कांग्रेस यस संवेदनशील विषयमा तत्काल महत्त्वपूर्ण निर्णय लिन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’
मूल्यवृद्धि र कालाबजारी नियन्त्रण
मूल्यवृद्धि र कालाबजारी नियन्त्रणका लागि प्रभावकारी कार्य गर्न बजार अनुगमन गरी न्यून आए भएका, दैनिक ज्यालादारी गरेर जीवकोपार्जन गर्ने, सडकपेटीमा सानातिना व्यापार गरी गुजारा चलाउँदै आएका तर हाल विस्थापन भई बेराजगार रहेका व्यक्ति परिवारका बारेमा सूक्ष्म अध्ययन गरी उनीहरूको जीविकोपार्जन गर्ने उचित बन्दोबस्त मिलाउन कांग्रेसले सरकारसँग माग गरेको छ।
सुन तस्करीमा संलग्नमाथि अविलम्ब कारबाही
त्रिभुवन विमानस्थल भन्सारबाट बाहिर निस्कँदै गर्दा बरामद एक सय किलो सुनका सन्दर्भमा गम्भीरतापूर्वक गहिरो अनुसन्धान गरी सुन तस्करीमा संलग्न दोषीलाई अविलम्ब कारबाहीको यरामा ल्याउन कांग्रेसले सरकारसँग माग गरेको छ।
किसानलाई मल र बिउ उपलब्ध
किसानले खेती गर्ने समयमा मल र बिउ अभाव भोगिरहनुपरेको भन्दै कांग्रेसले समयमै सर्वसुलभ रूपमा मल र बिउ प्राप्त गर्न सक्ने प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ।
लम्पी स्किन पीडितलाई राहत
नेपाली कांग्रेसले लम्पी स्किन रोगका कारण पशुहरू पर्दा पीडामा परेका किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ। साथै उक्त रोग निवारणको तत्काल उपाय खोज्न पनि ध्यानाकर्षण गराएको छ।
खाद्य भण्डारणको प्रबन्ध
न्यून वर्षाका कारण एक तिहाई जमिनमा धानबाली लगाउन नपाएको भन्दै कांग्रेसले मुलुकमा यस वर्ष खाद्यान्न संकट हुने संकेत देखिन थालेको जनाएको छ। तसर्थ बेलैमा उचित रणनीतिक सावधानी अपनाउन र आवश्यक खाद्यान्न भण्डारणको प्रबन्ध गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
सहकारी पीडित र ऋणीको समस्या समाधान
लघुवित्त बैंक र सहकारीका केही सञ्चालकका कारण बद्नाम भएको ठहर गर्दै कांग्रेसले पीडितलाई न्याय दिन माग गरेको छ। साथै सामूहिक जमानीमा लिएका ऋण तिर्न नसकेका ऋणीहरूको समस्याको सम्बोधन गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ।
नागरिकता प्राप्तिमा सहज
नागरिकता सम्बन्धी नियमावली यथाशीघ्र बनाई संविधान र कानुनबमोजिम वास्तविक नागरिकलाई नागरिकता प्रदान गर्ने कार्य सहज बनाउन नेपाली कांग्रेसको बैठकले सरकारसँग माग गरेको छ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको टुंगो
दिगो शान्ति स्थापना गर्न गरिएको लामो प्रयासपछि संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा प्रस्तुत भए पनि पारित हुन नसकेको यथार्थ औँल्याउँदै कांग्रेसले सहमतिका आधारमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक यथाशीघ्र संसद्बाट पारित गर्न माग गरेको छ।
महत्त्वपूर्ण ऐन बनाउन पहल
संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन, संघीय शिक्षा ऐन जस्ता अति आवश्यक ऐनहरू बनाउन संसद्मा यथाशीघ्र विधेयक संसदमा ल्याई पारित गर्न कांग्रेसले माग गरेको छ।
भूमिहीनको समस्या समाधान गर्न माग
भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित वसोवासीको समस्या दीर्घकालीन समाधानका लागि गठित आयोगको कामलाई चुस्त बनाउन कांग्रैस बैठकले सरकारसँग माग गरेको छ। कांग्रेस निर्णयमा उल्लेख छ, ‘केही स्थानमा प्रारम्भिक नापी पनि नगएको तथा अधिकांश अव्यवस्थित वसोवासीको हकमा शुल्क चर्को भयो भन्ने गुनासो आएकाले सबैखाले उचित सुझावलाई समेत सम्बेधन गर्दै आयोगको तोकिएको जिम्मेवारी समयमै सम्पन्न गर्न गराउन यो बैठक सरकारलाई ध्यानाकर्षण गराउँदछ।’
तराईमधेशमा पानीको समस्या समाधान
तराईमधेशका अधिकांश भूभागमा भूमिगत जलको सतह घट्न गई प्रत्येक घरपरिवारले पानीका लागि प्रयोग गर्ने हातेकलमा पानी आउन छाडेको जनाउँदै कांग्रेसले समाधानको बाटो निकाल्न र तत्कालका लागि वैकल्पिक उपाय खोजी त्यहाँका बासिन्दाको चिन्तालाई समयमै निवारण गर्न माग गरेको छ।
किसानलाई राहत
तराईमधेशमा यस वर्ष न्यून वर्षाका कारण समयमा खेती गर्ने अवस्था नरहेकाले सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न कांग्रेसले सरकारसँग माग गरेको छ।
बाढीपीडितलाई क्षतिपूर्ति
नेपाली कांग्रेसले वर्षातका कारण देशका विभिन्न स्थानमा गएको बाढी पहिरो र भूकम्पका कारण भएको जनधनको क्षतिबाट प्रभावितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

