सुन प्रकरणमा नाम जोडेपछि माओवादी उपमहाचिव वर्षमान पुनको आपत्ति

हिमाल प्रेस १५ साउन २०८० ९:२४ | Monday, July 31, 2023
सुन प्रकरणमा नाम जोडेपछि माओवादी उपमहाचिव वर्षमान पुनको आपत्ति नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन। फाइल तस्बिर।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन प्रकरणमा आफूसँग जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन्।

ठमेलबाट पक्राउ परेका दावा छिरिङ चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने एजेन्ट भएका र उनको कनेक्सन नेकपा माओवादी केन्द्रका नेताहरूसँग देखिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएका थिए। यस क्रममा उनी पनि सहभागी भएको एक रात्रिकालीन भोजको तस्बिर अहिले सामाजिक सञ्जालहरूमा देखिन थालेको छ।

पुनले फेसबुकमा लेखेका छन्, ‘जनयुद्धका सहिद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासँग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले मसँग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ।’

अमला रोका उनै माओवादी नेता पुन र उनकी पत्नी ओनसरी घर्तीमगरसँग पारिवारिक सम्बन्ध जोडिएकी व्यक्ति हुन्।

गिरोहका सदस्य दावासहितको टोलीले बारम्बार पुन र घर्तीलाई भेट्ने गरेको पनि खुलेको थियो। घर्तीलाई त यो गिरोहले सभामुख भएकै बेला कार्यकक्षमै पुगेर भेटेको खबर आएपछि उपमहाचिव पुनले आपत्ति जनाएका हुन्।

पुनले आपत्ति जनाएका मात्र हैनन्, सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न यस्तो गलत प्रचार गरिएको फेसबुकमार्फत लेखेका छन्।

‘यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निस्पक्ष छानबिनको म पूर्णरूपमा समर्थन गर्दछु,’ उनले लेखेका छन्, ‘राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न म सबैसँग हार्दिक आग्रह गर्दछु।

प्रकाशित: १५ साउन २०८० ९:२४ | Monday, July 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast