 
                             
                                            दाङ– तुलसिपुर उपमहानगरपालिका-४ रक्षाचौरनजिकै रहेका गन्धर्व शनिबार तुलसिपुरमा भेला भए। करिब ६३ घरधुरी रहेको सो टोलका उनीहरू मध्ये सारंगी बनाउन र बजाउन सीमित व्यक्तिलाई मात्रै आउँछ।
उनीहरूलाई सारंगी बनाउन र बजाउन सिकाउने अभियानमा लुम्बिनी प्रदेश सरकार लागेको छ। उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय संकटको पेसा बचाउन उनीहरूलाई सशक्तीकरण गर्न लागेको छ।
सोही टोलका सारंगी बनाउने र बजाउने सिप भएका ७० वर्षीय शालिकग्राम गन्धर्वले पेसा कतै लोपोन्मुख अवस्थामै पुग्छ कि भन्ने चिन्ता लागेको बताए।
‘सारंगी बाजामा चारवटा तार र त्यसबाट ३६ स्वर निकाल्न सकिन्छ। यसमा त राष्ट्रियता पो झल्किन्छ। यो पेसालाई पछिल्लो पुस्ताले अपनत्व नगरिदिँदा चिन्ता लाग्छ,’ उनले भने।
सारंगी बाजा बनाउने र बजाउने सिप सिकाउँदै आएका गणेश गन्धर्व खमारी, मालागेडी, खिर्रो, काठको मुर्रा, बाख्राको छाला र सल्लाको खोटोबाट सारंगी बनाउन सकिने बताउँछन्।
आफूले बनाएका सारंगीको बजार मूल्य पाँचदेखि ३५ हजार रहेको उनले बताए। एउटा सारंगी बनाउन पाँच दिन लाग्ने गणेशले जानकारी दिए।
‘राज्यका तर्फबाट सिप प्रवर्द्धनका साथै बजारीकरणमा समेत विशेष सहयोग भएमात्रै संकटको सारंगी बचाउन सकिन्छ,’ उनले भने।
तुलसिपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संकटमा परेको बाजा बचाउनका लागि पालिकाले नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए।
गन्धर्व समुदायको संकटमा परेको पेसा बचाउने दायित्व सरकारको भएको उनले बताए। सारंगी बनाउन र बजाउने सिपको प्रवर्द्धन गरेर व्यावसायिक रूपमा अघि बढाउन सकिने मेयर खड्काले बताए।
सीमित व्यक्तिमा रहेको सिपलाई युवापुस्तामाझ पुर्याउनका लागि कार्यालयले सारंगी बनाउने सिपको प्रवर्द्धन गरेको छ। पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारीले लुम्बिनी प्रदेशका तीन जिल्लामा सारंगी बाजाका लागि संगीत कक्षा र सारंगी बनाउने सिप प्रवर्द्धन गरिएको जानकारी दिए।
उत्पादन गरिएका सारंगीको बजारीकरण गरिने उनले बताए। ‘सारंगी बाजा बनाउनका लागि लागत मूल्य र समय घटाउने प्रविधि हस्तान्तरण गरिनु पर्छ,’ उनले भने।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 