सरकार अवैधानिक अर्थतन्त्र प्रोत्साहनमा उद्धत : शंकर पोखरेल

हिमाल प्रेस १३ साउन २०८० १०:५५ | Saturday, July 29, 2023
सरकार अवैधानिक अर्थतन्त्र प्रोत्साहनमा उद्धत : शंकर पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिएको आरोप लगाएका छन्।

वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने सरकारको नीतिले देशमा चरम आर्थिक संकट सिर्जना भएको उनको दाबी छ।

‘वर्तमान सरकारको वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीतिले चरम आर्थिक संकट सिर्जना भएको छ र देशबाट ठूलो संख्यामा नागरिकहरू वैदेशिक रोजगारीमा पलायन भइरहेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

राजनीतक दलहरू बलियो नभई राज्य दह्रो नहुने भन्दै उनले बलियो राष्ट्रिय शक्तिका रूपमा राजनीतिक दलहरूको विकास अपरिहार्य रहेको उनको भनाइ छ।

राजनीतिक दलहरूले नेपालमा लामो समय राज्यसत्ताविरुद्ध संघर्ष गर्नु परेका कारणले नेपाली समाज अझै पनि राज्यसत्ताको विपक्षीजस्तो बन्न पुगेको उनले जनाएका छन्।

‘नेपाल राष्ट्रको विकास र समृद्धिका लागि राज्य हाम्रो हो भन्ने साझा मनोविज्ञानको विकास जरुरी छ। वर्गीय समाजमा राज्य कमजोर हुने र नागरिक बलियो हुने सम्भावना रहँदैन,’ उनले भने।

राजनीतिक अस्थिरता र सामाजिक अराजकताले राज्य दिनप्रतिदिन कमजोर भइरहेको उनले बताएका छन्।

‘त्यसमाथि नेपालीको मौलिक संस्कृतिमा भइरहेको विघटनले राज्यलाई थप कमजोर बनाइरहेको छ,’ उनले भनेका छन्, ‘जबसम्म हामीले मुलुक भित्रको श्रमशक्तिलाई उद्यमशीलता र रोजगारीका माध्यमबाट राष्ट्रनिर्माणको काममा लगाउन सक्तैनौं तबसम्म विकास र समृद्धिको कुरा कोरा कल्पना मात्र हुनेछ।’

सही राजनीति नै समग्र नीतिहरूको नीति रहेको भन्दै मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउनेबारे राजनीतिक विमर्श गर्न उनले सबैमा आग्रह गरेका छन्।

प्रकाशित: १३ साउन २०८० १०:५५ | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast