सिंहदरबास्थित आफ्नो कार्यकक्षमा सभामुख देवराज घिमिरेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : हिमाल प्रेस
काठमाडौँ– सभामुख देवराज घिमिरेले मंगलबार प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेका छन्। घिमिरेले बिहान ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संसद्को चालु अधिवेशन, विचाराधीन रहेका विभिन्न विधेयक लगायतका विषयमा नेताहरूसँग कुराकानी गरेका हुन्।
छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।
सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसद्लाई अझ प्रभावकारी बनाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गरको बताइएको छ।
प्रतिनिधिसभाका १० विषयगत समिति गत वैशाख १५ गते गठन भएको थियो। समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएको थियो। तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल गर्न सकेका छैनन्।
प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटकपटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेतासँग परामर्श गरेका हुन्। छलफलमा कानुनमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ पनि सहभागी थिए।




