संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन गर्दै भोजपुरको दिमालुङ स्मारक पार्क

हिमाल प्रेस ११ साउन २०८० १०:५० | Thursday, July 27, 2023
संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन गर्दै भोजपुरको दिमालुङ स्मारक पार्क

भोजपुर– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ। किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान निर्माण गरिएको हो।

किरात राईको आस्थाको केन्द्रको रूपमा रहेको वडा २ र ३ मा पर्ने सो स्थानमा कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, भवन तथा सहरी विकास कार्यालय धनकुटाको २ करोड ८ लाख र गाउँपालिकाको पाँच लाख रुपैयाँ लगानीमा उद्यान निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम राईले बताए।

आर्थिक वर्ष ०७४/७५ मा निर्माण थालिएको गरिएको पार्कलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

‘किरात संस्कृतिको संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेका छौं। यसबाट संस्कृतिको संरक्षणसँगै यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ,’ उनले भने।

यो ठाउँ गाउँपालिकाले निर्माण गरिरहेको जोर आहाल, शंखामचुली, दिमालुङ पदमार्गको अन्तिम विन्दुको रूपमा रहेको छ। यो स्थानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिका छन्।

यहाँ रहेको किरात राईको इतिहास बोकेको विषेश खालको दिमालुङ ढुंगाको संरक्षण गर्दै उद्यान निर्माण गरिएको हो।

राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुंगा हो। त्यसैले उद्यानको नाम दिमालुङ राखिएको हो। किरात समुदायले वर्षमा २ पटक यस क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन्।

दिमालुङ उद्यानको आवश्यक व्यवस्थापनका लागि प्रदेश सरकारको २५ लाख र गाउँपालिकाको ७ लाख रुपैयाँ थप काम गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए।

प्रकाशित: ११ साउन २०८० १०:५० | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast