फाइल तस्बिर।
काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन्। राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले सरकार संघीय निजामती सेवा ऐनप्रति गम्भीर भएको भन्दै छिट्टै ऐन ल्याउने बताएका हुन्।
उनले भने, ‘संघीय निजामती सेवा ऐन चाँडै नै आउँछ। कुनै किसिमको चिन्ता लिन पर्दैन, जसरी पनि ल्याउनेछौँ।’ उनले उक्त ऐनमाथि धेरै पटक छलफल भएको भन्दै ऐन आउनेमा विश्वस्त हुन आग्रह गरे।
मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘विकट र अति दुर्गम ठाउँमा कर्मचारीको अभाव छ’, उनले भने, ‘तर सुगममा राज्यले तलब खुवाउन नसक्ने गरी करार र समायोजन भए पनि जाने कर्मचारी अत्यधिक छन्। साउन १ गतेदेखि समायोजनमा अझ कडाइ गरिनेछ।’
उनले एक लाख ३७ हजार कर्मचारीमध्ये संघअन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको बताए।




