विश्‍व शान्ति दिवसका अवसरमा पनौती-नमोबुद्ध पदयात्रा गरिने

हिमाल प्रेस १४ साउन २०८० ९:४७ | Sunday, July 30, 2023
विश्‍व शान्ति दिवसका अवसरमा पनौती-नमोबुद्ध पदयात्रा गरिने नमोबुद्ध क्षेत्र।

काठमाडौँ– विश्व शान्ति दिवसका अवसरमा काभ्रेको ऐतिहासिक एवम् पुरातात्त्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ।

विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो।

काभ्रे सेवा समाज, जिल्ला समन्वय समिति तथा स्थानीय तह, नागरिक समाज एवम् सामाजिक संस्थाको आयोजनामा विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउन पनौती र नमोबुद्धमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन, हिन्दू र बौद्ध धर्मावलम्बीबीच आपसी सद्भाव विकास, स्थानीय कला-संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले विश्व सांस्कृतिक शान्ति पदयात्रा आयोजना गरिएको समाजका अध्यक्ष प्रह्लाद केसीले बताए।

उनका अनुसार सुन्दर र प्राकृतिक सौन्दर्यले भरिएको काभ्रेको विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण, प्रवर्द्धन गर्दै विश्वभर चिनाउन पदयात्रा महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।

शान्ति पदयात्राबारे आयोजित जिल्लास्तरीय अन्तर्क्रियामा पनौती र नमोबुद्धको पहिचानलाई थप उच्च बनाउन शान्तिका प्रतीक गौतम बुद्धको पहिलो जन्मस्थलमा विश्व शान्ति पदयात्रा आयोजना गर्न लागिएको आयोजकले जनाएका हुन्।

यस्तै स्थानीय सरकार, व्यवसायी तथा विभिन्न पेसामा आबद्ध नागरिकले उक्त पदयात्रामा सहकार्य तथा सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।

काभ्रेमा जन्मिएर अन्यत्र पेसा-व्यवसाय गरेकालाई जिल्लासँग जोड्ने, ३ तहकै सरकारलाई पनौती र नमोबुद्धको विकासका लागि सहकार्य गर्ने वातावरण निर्माण गर्ने, पनौती र नमोबुद्ध दुवै क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्ने, धार्मिक सर्किटका रूपमा विकास, पनौती-नमोबुद्ध ट्रेकिङ रुट निर्माणका लागि पहल गर्न शान्ति पदयात्राको आयोजना गरिएको समिति प्रमुख दीपक गौतमले बताए।

जिल्लाका १३ वटै स्थानीय तहमा रहेका महत्त्वपूर्ण स्थलको प्रचार-प्रसारका लागि विभिन्न समयमा यस्ता पदयात्रा आयोजना गरिने उनले जानकारी दिए।

पदयात्रा पनौतीस्थित राजकुमार महासत्त्वको दरबार हुँदै पनौती बजार, त्रिवेणीघाट, सुन्थान, इँट्टे, शंखुबाट ऐतिहासिक एवम् पर्यटकीय नमोबुद्ध पुग्नेछ। ९ दशमलव ८ किमी दूरीको पदयात्रा साढे ३ घन्टामा पार गरिने जनाइएको छ।

नमोबुद्ध शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थल हो। बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको पाइन्छ।

किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन्। गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ।

साथै पनौतीबाट शंखु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिमशृंखलाहरू देख्न सकिन्छ।

प्रकाशित: १४ साउन २०८० ९:४७ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast