एमाले सचिवालय बैठक। फाइल तस्बिर
                                            काठमाडौँ- पछिल्लो समय महामारीको रूपमा फैलिएको लम्पी स्किनबाट भएको क्षतिपूर्ति किसानलाई उपलब्ध गराउन नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले लम्पी स्किन रोगबाट किसानको अर्बौँको क्षतिबापतको राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
लम्पी स्किनबाट भएको क्षतिको राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। लम्पीबाट किसानले अर्बौंको नोक्सानी व्यहोर्नुपरेको छ। संक्रमण निरन्तर फैलिरहेको छ। किसानले व्यहोर्नुपरेको क्षति न्यून गर्न तत्काल प्रभावकारी कदम चाल्न, बीमा रकम तत्काल भुक्तानी गर्न, खोपको प्रभावकारी प्रबन्ध गर्न र किसानलाई राहत दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको ज्ञवालीले बताए।
त्यस्तै नेकपा एमालेको सचिवालय बैठकले बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई तोकेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बसेको थियो। बैठकले कोशी प्रदेश सभामा सत्तागठबन्धनबाट गरिएको काम संविधान विरोधी रहेको ठहर गरेको छ।
सरकार गठन गर्ने र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुनु नेपालको संविधानविपरित, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता रहेको ज्ञवालीले बताए। बैठकले किसानहरुले सुलभ रुपमा रासायनिक मल पाउने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।
मिटरब्याजसम्बन्धी विधेयकलाई लिएर एमालेप्रति नकारात्मक भ्रम फैलाइएकोप्रति आपत्ति जनाउँदै विधेयक पास गर्नका लागि तत्काल आवश्यक कानूनी प्रबन्ध गर्न पनि एमालेले माग गरेको छ।

                                             
                                             
                                             
                                             
                                             

