 
                             
                                            काठमाडौँ- हाेटल संघ नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले होटल तथा पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्न नसकेको प्रतिक्रिया दिएकाे छ। नेपाल राष्ट्र बैंकले गत आइतबार सार्वजनिक गरेकाे माैद्रिक नीति प्रतिक्रिया दिँदै संघले हाेटल तथा पर्यटन क्षेत्रका समस्या सम्बाेधन नगरेकाे बताएकाे हाे।
कोभिड–१९ महामारी, रुस-युक्रेन युद्धलगायत कारणले चरम आर्थिक मन्दीको मारमा परेको होटल तथा पर्यटन क्षेत्रलाई मौद्रिक नीतिले कुनै सम्बोधन नगरेको संघकाे भनाइ छ। मौद्रिक नीति ल्याउनुअघि कर्जा पुनर्तालिकीकरणजस्ता मौद्रिक उपायका साथै कम ब्याजदरको व्यवस्थाबाट पर्यटन क्षेत्रको जर्गेना गर्न होटल संघ नेपालले राष्ट्र बैंकसमक्ष माग राखेको थियो।
विलासिता करलगायतले पर्यटन उद्योगलाई अप्ठ्यारो परेको बेला केन्द्रीय बैंकले पनि कुनै चासो नदिएको संघको भनाइ छ। ‘लगानी आकर्षित गर्न र लगानी भइसकेका होटललाई प्रोत्साहन गर्न मौद्रिक नीतिको कार्यान्वयनमा आउने निर्देशिकाले उपयुक्त ढंगबाट सम्बोधन गर्ने हाम्रो विश्वास छ,’ संघको विज्ञप्तिमा उल्ले छ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले पनि मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउन नसकेको टिप्पणी गरेका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 