मुक्तिको २३ वर्षमा पनि पुनर्स्थापित भएनन् कमैया

हिमाल प्रेस २ साउन २०८० १२:२३ | Tuesday, July 18, 2023
मुक्तिको २३ वर्षमा पनि पुनर्स्थापित भएनन् कमैया

कैलाली- कमैया प्रथा अन्त्य भएको २३ वर्ष पूरा भइसक्दा पनि अझै पुनर्स्थापित नभएको गुनासो मुक्त कमैयाहरूको छ।

जमिनदारको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले २०५७ साल साउन २ मा मुक्त भएको घोषण गरेको थियो।

तत्कालीन समयमा सरकारले मुक्त कमैयालाई ठाउँअनुसार एकदेखि पाँच कठ्ठासम्म जग्गा, घर बनाउन काठ र रकम उपलब्ध गराएको थियो।

यद्यपि पुनः स्थापना कार्य अझै पूरा नभएको मुक्त कमैया महिला विकास मञ्च कैलालीको भनाइ छ। मुक्ति दिवस खुसी, उत्साह र उल्लासका साथ मनाउनु पर्नेमा अझैसम्म धेरै कमैयाको पुनर्स्थापना नभएकाले दुःखले मनाउनु परेको मञ्चका अध्यक्ष सीमा चौधरीले गुनासो गरिन्।

शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण र समावेशीकरणसम्बन्धी मुद्दामा प्राथमिकता नदिँदा मुक्त कमैया आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछि पर्दै आएको उनको भनाइ छ। अध्यक्ष चौधरीले मुक्त कमैयालाई पुनर्स्थापित गर्न सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासमक्ष अनुरोध गरेकी छन्।

कैलालीमा ९ हजार ७ सय ६२ मुक्त कमैया परिवार रहेकोमा ९ सय ५३ जनाको उचित पुनः स्थापना हुन बाँकी रहेको उनको भनाइ छ। मुक्त कमैयाको परिचयपत्रसहित पुनर्स्थापना, जनता आवास कार्यक्रम लागू गर्न, अति आधारभूत आवश्यकता पूरा गर्नुपर्ने, मुक्त कमैयाका बालबालिका, कमलहरि तथा युवाका लागि निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्ने माग मञ्चले गरेको छ।

अध्यक्ष चौधरीले मुक्त कमैया, कमलहरि, हलिया र हरुवाचरुवाको वस्तुस्थिति अध्ययन प्रतिवेदनको सिफारिस कार्यान्वयन गरिनुपर्ने, मुक्त कमैयालाई व्यवसाय सञ्चालन गर्न बिनाधितो पाँच वर्षका लागि पाँच लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनुपर्ने र राज्यका हरेक तहमा मुक्त कमैयाको सहभागिताको सुनिश्चितता गरिनुपर्ने माग गरिन्।

प्रकाशित: २ साउन २०८० १२:२३ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast