‘महानगर’ भदौ ८ मा प्रदर्शन हुने

हिमाल प्रेस १० साउन २०८० १२:०८ | Wednesday, July 26, 2023
‘महानगर’ भदौ ८ मा प्रदर्शन हुने

काठमाडौँ- नेपाली फिल्म ‘महानगर : वान नाइट इन काठमाडौँ’ भदौ ८ मा प्रदर्शनमा आउने भएको छ। फिल्ममा कार्म र मेनुका प्रधान मुख्य भूमिकामा छन्। मोहन राईको लेखन र निर्देशन रहेको फिल्ममा एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घटना क्रमको कथालाई समेटिएको छ।

सन् २०२१ मा कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको फिल्मले अमेरिकाको बु्रकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिंगटन डीसी साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना, नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ भइसकेको छ।

त्यस्तै इन्डस भ्याली इन्टरनेसनल फिल्म फेस्टिभल र भारतको जागरण फिल्म फेस्टिभलमा पनि ‘महानगर’ छनोट भएको छ। फिल्मले निफमा राष्ट्रिय फिल्मको श्रेणीमा उत्कृष्ट फिल्म, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड जितेको थियो।

निर्देशक राईले विभिन्न देशका फेस्टिभलको यात्रापछि घरेलु दर्शकका लागि चलचित्र प्रदर्शन गर्न लागेको जनाएका छन्। ‘फिल्मले विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई फिल्ममार्फत अभिव्यक्त गर्ने प्रयास गरेको छ,’ उनले भने, ‘महानगरको मुख्य पात्रझैँ नेपालको पूर्वी जिल्लाको एउटा सानो गाउँबाट एउटा सपना बोकेर म पनि वर्षौं पहिला काठमाडौँ आएको थिएँ। काठमाडौँमा बाहिरिया भएर बाँच्नु र संघर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ। मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतार्ने सोचले महानगर बनाएको हो।’

फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकारको अभिनय छ।

प्रकाशित: १० साउन २०८० १२:०८ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast