भ्रष्टाचारविरुद्ध सरकार दृढ छ : उपप्रधानमन्त्री खड्का

हिमाल प्रेस १३ साउन २०८० १९:०२ | Saturday, July 29, 2023
भ्रष्टाचारविरुद्ध सरकार दृढ छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ६ को सम्मेलनमा शनिबार उनले भ्रष्टाचार नियन्त्रण र सुशासनको कामलाई सरकारले अभियानकै रूपमा अघि बढाएकाे बताए। ‘सरकारले केही कामको सुरुवात गरेको छ,’ उनले भने, ‘खासगरी भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा दृढताका साथ अघि बढ्दै सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्दैछ।’

कांग्रेस उपसभापतिसमेत रहेका मन्त्री खड्काले विकास निर्माणका काममा ढिलासुस्तीदेखि पुँजीगत खर्च न्यून हुने अवस्था अन्त्यका लागि सरकारले कठोर कदम चाल्ने तयारी पनि गरेकाे बताए।

जनताले दैनिक सेवा लिने ठाउँलाई व्यवस्थित, सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउनु सरकारको उच्च प्राथमिकता रहेको उनले बताए। गलत काम भए खुला रूपमा आलोचना गर्न र सुधारका लागि सुझाव दिन समेत उनले आग्रह गरे।

यतिबेला नेपाली राजनीतिको मियो नेपाली कांग्रेस रहेको भन्दै संविधान र लोकतन्त्रका पक्षधर सबै शक्तिलाई साथमा लिएर जाने दायित्व कांग्रेसको भएको उनकाे भनाइ थियाे। सबै नेता तथा कार्यकर्तालाई सोहीअनुरूप काम गर्नुपर्ने निर्देशन उनले दिए।

कांग्रेस रूपान्तरणका लागि भनेर हल्लाभन्दा पनि काम गर्नुपर्ने उनकाे जिकिर छ। ‘देश र जनताप्रति इमानदार भएर काम गरौँ, पारदर्शी बनौँ। बोली र गराइमा एकरूपता ल्याऔँ,’ उनले भने, ‘जनताको घर दैलोमा पुगौँ, जनतालाई मालिक मानेर काम गरौँ।’

पार्टीका नेता तथा कार्यकर्तालाई सधैँ साथमा लिएर हिँड्न र हरेक काममा खटिनेहरूलाई सम्मान गरेर पार्टी रूपान्तरण गर्न सकिने उनले बताए। वडादेखि केन्द्रीय तहसम्म राज्य र पार्टी सत्ता बसेका सबै नेता कार्यकर्ताले पारदर्शी ढंगले काम गर्ने हो भने २०८४ को निर्वाचनमा नेपाली कांग्रेस फेरि एकपटक सबैभन्दा ठूलो पार्टी हुने उनको भनाइ छ।

नयाँ तथा पुराना कुनै पनि राजनीति दललाई गाली नगर्न कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले भने, ‘राम्रो काम गरौँ, पारदर्शी बनौँ, पार्टीलाई एकताबद्ध गरी जनताको घर दैलोसम्म पुगौँ। देश र जनताको सेवालाई सर्वोपरि मानेर काम गरौँ।’

प्रकाशित: १३ साउन २०८० १९:०२ | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast