भन्सार, अध्यागमन र सुरक्षा प्रमुखसँग पदमा बस्ने नैतिकता छैनः रवि लामिछाने

हिमाल प्रेस १० साउन २०८० १५:४५ | Wednesday, July 26, 2023
भन्सार, अध्यागमन र सुरक्षा प्रमुखसँग पदमा बस्ने नैतिकता छैनः रवि लामिछाने फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले त्रिभुवन विमानस्थल भन्सार कार्यालय, अध्यागमन कार्यालय र सुरक्षा निकायका प्रमुखले पदमा बस्ने नैतिकता गुमाएको बताएका छन्। विमानस्थलबाट ठूलो परिमाणको सुन बाहिरिएको विषयबारे प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै लामिछानेले उनीहरू पदमा हुँदा अनुसन्धान प्रभावित हुने बताएका हुन्।

सांसद लामिछानेले भने, ‘सम्बन्धित निकायका प्रमुख पदमा बसिरहँदा प्रमाण मेटिने र अनुसन्धान प्रभावित हुने सम्भावना हुन्छ। सरकारले यता ध्यान दिनुपर्छ।’

उनले अगाडि भने, ‘जब घटना हुन्छ त्यसपछि कर्मचारीको सरुवा गरिन्छ। सरुवा भनेको कारबाही हो कि पुरस्कार हो? विभिन्न निकायका प्रमुखलाई तुरुन्त बर्खास्त गर्नुपर्ने होइन? यस्ता गम्भीर विषयमा केही मानिसलाई सरुवा गरेर मात्रै पुग्छ? मालिकलाई किन समातिएन? भरिया मात्रै किन समातियो।’

अनुसन्धान सुरुवात गर्ने तर निष्कर्षमा नपुग्ने विषयमा पनि लामिछानेले सरकारको ध्यानाकर्षण गराएका छन्। ‘सुन तस्करीका विषयमा हामीले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छौँ,’ पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने, ‘यसमा गृहमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्छ। नभए सरकारको दिनगन्ती सुरु हुन्छ।’

प्रकाशित: १० साउन २०८० १५:४५ | Wednesday, July 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast