भक्तपुरका चोकचाेकमा घण्टाकर्ण पर्व मनाइयाे [तस्बिरहरू]

दिपेश श्रेष्ठ ३० असार २०८० २१:१४ | Saturday, July 15, 2023
भक्तपुरका चोकचाेकमा घण्टाकर्ण पर्व मनाइयाे [तस्बिरहरू]

काठमाडौँ- काठमाडौँ उपत्यकालगायत देशभरका नेवार समुदायले शनिबार गठेमंगल (घण्टाकर्ण) पर्व मनाएका छन्। हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा नास्तिक गठांमुगःलाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ। भक्तपुरमा मनाइने गठेमंगलको छुट्टै आकर्षण छ।

यहाँ चोकचोकमा नर्कट, छ्‍वाली, नाङ्लो, हाँडीबाट मानवरुपी तीनखुट्टे, गठांमुगः को पुतला बनाइन्छ। यो पर्वका क्रममा राँको बालेर भूत भगाउने भन्दै पुतलाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याइन्छ। अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ। परम्परादेखि नै अश्लील शब्दहरूको प्रयोग गर्ने छुट रहेको किंवदन्ती छ। राति घरघरमा राक्षस मरिसक्यो भनेर आफ्ना श्रद्धाअनुसार बलिपुजा गर्ने चलन पनि छ। तान्त्रिकहरू यसलाई ‘चर्हेपूजा’ भन्दछन्।

त्यसअघि गठाःमुंग चर्हे पर्वको अवसरमा भक्तपुरका विभिन्न देवदेवीको शक्ति पीठमा दर्शनार्थीको भीड लागेको थियो। नेवार समुदायले घर–घरमा लिपपोत गरी शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन छ।

घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूत मन्छाउने) गर्दछन्। काँचो माटोको सानो दहीको कतारो वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ति बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्दै भूत पन्छाउने गरिन्छ।

प्रकाशित: ३० असार २०८० २१:१४ | Saturday, July 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast