नेसपाले पठायो पार्टी एकताका लागि माओवादीलाई प्रस्ताव

हिमाल प्रेस ९ साउन २०८० ९:०१ | Tuesday, July 25, 2023
नेसपाले पठायो पार्टी एकताका लागि माओवादीलाई प्रस्ताव

काठमाडौँ- डा‍. बाबुराम भट्टराईसँग एकता गर्न नेकपा माओवादी केन्द्रले आन्तरिक तयारी थालेको छ। भट्टराईसँग एकताको विषयलाई माओवादीले आउँदो १७ साउनमा बस्ने केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने भएको छ।

माओवादीका दोस्रो स्तरका नेताले भट्टराईसँग एकता गरेर जानुपर्ने अडान राखेसँगै औपचारिकरूपमा प्रस्ताव राखिएको हो।

चुनावअघि नै प्रचण्ड-बाबुरामबीच एकताको लगभग सहमति भएको थियो।
माओवादी स्रोतका अनुसार प्रचण्ड र बाबुरामबीच त्यतिबेला भएका सहमति अनुसार नै १७ साउनको केन्द्रीय समिति बैठकमा प्रस्ताव पेस हुने तयारी छ। बाबुरामले जेठ २०८० मा नै एकतासम्बन्धी प्रस्ताव पठाएका थिए।

त्यतिबेला बाबुरामले पार्टीको नाम, झन्डा, चुनाव चिह्नसहितको प्रस्ताव पठाएका थिए।

त्यसको जवाफ भने प्रचण्डले अहिलेसम्म दिएका छैनन्। बाबुरामले पार्टीको नाम परिवर्तन गर्नुपर्ने र माओवादी शब्द राख्न नहुने प्रस्ताव गरेका छन्। बाबुरामले नेकपा समाजवादी भनेर पार्टीको नाम राख्नुपर्ने प्रस्ताव गरेका छन्, जसबारे प्रचण्डले जवाफ दिइसकेका छैनन्। त्यसैगरी, बाबुरामको प्रस्ताव चुनाव चिह्न फेर्नुपर्ने भन्ने पनि छ।

बैठकमा मुख्यगरी डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको एजेन्डा प्रस्तुत हुने बताइएको छ।

प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग मिलेर समाजवादी मोर्चा बनाए।

उक्त मोर्चाबन्दीमा नियोजित रूपमा बाबुराम भट्टराई छुटेका छन्। जबकि समाजवादी मोर्चाको अवधारणा केही वर्षअघि नै बाबुरामले सार्वजनिक गरेका थिए।

त्यसका लागि २०७९ को चुनावअघि बाबुरामले प्रचण्ड र माधव नेपाललाई जोड्ने प्रयास गरेका थिए। निकै दौडधुप गरेर त्यतिबेला समाजवादी केन्द्र बनाउने, चुनाव चिह्न र घोषणापत्र पनि साझा बनाउने अनौपचारिक सहमति भएको थियो। उक्त मोर्चामा वामदेव गौतम पनि थपिने चर्चा थियो ।

त्यतिबेला समाजवादी केन्द्र बन्न सकेन। अहिले ४ असार २०८० मा बनेको केन्द्रबाट बाबुरामलाई आउट गरियो।

 

 

 

प्रकाशित: ९ साउन २०८० ९:०१ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast