बलिउडको ‘गुरुकुल’ जहाँ बस्छन् फिल्मी जनावर

हिमाल प्रेस २ साउन २०८० १९:१० | Tuesday, July 18, 2023
बलिउडको ‘गुरुकुल’ जहाँ बस्छन् फिल्मी जनावर अक्षय कुमारका साथ अयुब खान।

 बलिउडका फिल्ममा कुकुर, हात्ती, घोडालगायत जनावर देख्दा धेरैलाई लाग्छ यी कहाँबाट आउँछन् होला?  अमिताभ बच्चन र हेमा मालिनी अभिनीत चर्चित फिल्म ‘बागवान’ मा दुई कुकर थिए। अक्षय कुमारको फिल्म ‘इन्टरटेनमेन्ट’मा त फिल्मको नामै कुकुरको नामले थियो।

त्यस्तै सलमान खानको फिल्म ‘राम रतन धन पायो’ मा हात्ती र आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’मा गधा र राजकुमार रावको फिल्म ‘मोनिका ओ माई डार्लिङ’मा इगुआना देखिएका थिए। यी सबै जनावर ‘गुरुकुल’ का हुन्। जसलाई जावेद खान र उनको परिवारले चलाउँछ।

जावेदले फिल्मका लागि प्रशिक्षित जनावर उपलब्ध गराउँछन्। यस कामको सुरुवात उनका बुबा अयुब खानले गरेका थिए। बीबीसी हिन्दीसँगको कुराकानीमा जावेदले आफ्नो परिवार ४५ वर्षदेखि यस काममा संलग्न रहेको बताए। ‘मेरा बुबाले यस कामको सुरुवात राज कपुरको आरके स्टुडियो फिल्म्सबाट गर्नुभएको थियो,’ उनले भनेका छन्, ‘हाम्रो परिवार ४५ वर्षदेखि यो काम गरिरहेको छ।’

जावेदको ‘गुरुकुल’मा २० अलगअलग प्रजातिका कुकुर छन्। बिरालो, इगुआना, सुगा, खरायोलगायत जनावर पनि त्यहाँ छन्। फिल्म छायांकनका बेला जावेदले आवश्यकताअनुसार यी जनावर उपलब्ध गराउँछन्। छायांकन सकिएपछि तिनलाई फिर्ता ल्याइन्छ।

फिल्ममा जनावर प्रयोग गर्न ‘एनिमल वेलफेयर बोर्ड अफ इन्डिया’ मा दर्ता गर्नुपर्छ। ‘आफूसँग भएका जनावरबारे बोर्डलाई जानकारी दिनुपर्छ,’ जावेदले भने, ‘जनावरको पनि दर्ता गरिन्छ भन्ने कुरा अहिले पनि धेरै कम मान्छेलाई थाहा छ।’

कहिलेकाहीँ धेरै माग हुँदा पर्याप्त जनावर उपलब्ध गराउन आफू असमर्थ हुने जावेदले बताए। सुरज बडजात्याको निर्देशन रहेको फिल्म ‘प्रेम रतन धन पायो’ मा ६ वटा हात्ती चाहिएकोमा उनीसँग दुईमात्र थिए। ‘जब कुनै निर्माता-निर्देशक आफ्नो फिल्मका लागि जनावरको माग लिएर आउँछन्, फिल्मको कथाअनुसार हामी जनावरलाई प्रशिक्षित गर्छौँ,’ जावेद भन्छन्।

जनावर भएको दृश्य छायांकन हुँदा जावेद त्यहाँ उपस्थित हुन्छन्। ‘हामीले नै त्यो सिन गराउँछौँ किनकि उनीहरूले अरूको भनेको मान्दैनन्,’ उनी भन्छन्, ‘जनावरलाई नियन्त्रणमा राख्न सजिलो हुँदैन।’

छायांकन मिति नजिकिएपछि उनी सरकारमा अनुमतिका लागि निवेदन दिन्छन्। सुटिङ हुनुअघि नै त्यसबारे पूरा जानकारी उनलाई प्राप्त हुन्छ। कति दिनको छायांकन हो, कति घण्टाको काम हो आदि इत्यादि।

हात्ती र घोडाजस्ता ठूला जनावरलाई बढी ध्यान दिनुपर्ने जावेद बताउँछन्। तिनको खाना र उपचारको व्यवस्था पहिलेदेखि गरिएको हुन्छ।

कलाकारलाई मन पर्ने जनावर

अक्षय कुमार अभिनीत फिल्म ‘इन्टरटेनमेन्ट’मा अभिनय गरेको कुकरले एक विज्ञापनमा अभिनेत्री दीपिका पादुकोणसँग पनि काम गरेको थियो। जसको नाम ‘ब्रुनो’ हो। सुरुमा दीपिका कुकुरदेखि डराएकी थिइन्। पछि उनी र ब्रुनोबीच दोस्ती भएको जावेद बताउँछन्।

फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को एक दृश्यमा आमिर खान गधाको सवारी गर्छन्। त्यतिबेला एक महिनाका लागि गधालाई राजस्थान लगेको जावेद बताउँछन्। ‘नवाब’ नाम भएको त्यस गधालाई अंग्रेजी भाषामा प्रशिक्षित गरिएको थियो। ‘सुटिङ स्थलमा अंग्रेजीमा कमान्ड दिँदा जब ऊ प्रतिक्रिया जनाउँथ्यो, त्यहाँ भएका सबै छक्क पर्थे,’ जावेद भन्छन्। सेटमा सबैले गधा नभएर उसलाई ‘नवाब’ भनेर बोलाउँथे।

उनको परिवारले अहिलेसम्म एक हजारभन्दा बढी फिल्मका लागि जनावर उपलब्ध गराइसकेको छ। त्यसमा हिन्दी, तमिल, तेलुगुदेखि हलिउड फिल्म पनि छन्। एक जनावरले एकको सुटिङबापत सात हजारदेखि १० हजार भारुसम्म पाउने गरेको जावेद बताउँछन्। हात्ती, घोडालगायत ठूला जनावरले साना जनावरभन्दा बढी पारिश्रमिक पाउँछन्। बीबीसी हिन्दीबाट

प्रकाशित: २ साउन २०८० १९:१० | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast