 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताइन्।
बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को विशेष प्रदर्शनीमा सहभागी हुँदै उनले उक्त चलचित्रमार्फत एकल आमाको कथा, संघर्ष, दायित्वसँगै परिवार र समाजबाट खोज्ने साथलाई देखाइएको उल्लेख गरिन्।
‘एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पुर्याउने प्रयास गरिएको छ।
समाज मात्र नभई आफ्नै परिवारबाट सहयोग नपाउँदा जीवन यात्रामा भोग्ने कठिनाई चलचित्रमार्फत उजार गरिएको छ,’ उपसभामुख रानाले बताइन्।
समाज रूपान्तरणमा पुरुषले महिलालाई साथ दिने मात्र नभई परिवर्तनकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
‘एकल आमाले नयाँ जीवन बाँच्न पाउनुपर्छ भन्ने तथ्यलाई प्रस्ट्याउँदै यसले समय परिवर्तन गर्न भूमिका खेल्छ,’ उनको भनाइ छ।
विशेष प्रदर्शनीमा चलचित्र ‘बगान’ हेर्न राजनीतिज्ञसँगै कलाकर्मी उपस्थित थिए। चलचित्र हेरेपछि अभिनेता रमेश उप्रेतीले आफूले केही दृश्यमा आँसु रोक्न नसकेको प्रतिक्रिया दिए।
‘यसमा कथ्यशैलीसँगै हरेक कलाकार आफूलाई सुहाउँदो भूमिकामा प्रस्तुत हुनुभएको पाए। अभिनेता सरोज खनालको भूमिका महत्वपूर्ण रहेको पाए,’ उनले भने।
अभिनेत्री करिश्मा मानन्धरले चलचित्रको कथा मन परेर नै अभिनयसँगै निर्माणमा सहकार्य गरेको बताए। ‘यसमा मेरो र मेरो आमाको कथासमेत पाइन्छ। यसले समाज र परिवारको कारण आफूलाई स्वतन्त्र हुनबाट रोकिरहेका एकल आमालाई जीवन बाँच्ने प्रेरणा दिन्छ। म प्रतिनिधि पात्र मात्र हुँ।’ उनले दर्शकलाई परिवारका साथमा चलचित्र हेर्न आग्रह गरिन्।
यसै चलचित्रमार्फत अभिनयको सुरुआत गर्नुभएकी अभिनेत्री प्रमिला कार्कीले पहिलो दर्शक नै चलचित्रकर्मी बन्दा उत्साह र डर दुवै रहेको बताए।
‘निकै हिम्मत जुटाएर अग्रज कलाकारसँग बसेर आफूलाई पर्दामा हेरें। उनहरूले दिएको प्रतिक्रियाले उत्साहित छु,’ उनले भनिन्।
चलचित्रका गीतकार सुरेश वाग्लेले कथालाई अगाडि बढाउन गीतले भूमिका खेलेको बताए। अभिनय क्षेत्रमा ३ दशक काम गरेका खनालले बगानको कथा लेखेका हुन्।
‘मैले त कथा र पात्रलाई भेट गराए। बाँकी काम उनले नै गर्नुभयो। यसलाई स-परिवार हेर्न म आग्रह गर्छु,’ उनले भने।
चलचित्रमा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय छ।
स्वप्निल नीरवको कथामा तयार भएको उक्त चलचित्र गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन गरेका हुन्।
सन्देश शाहले सम्पादन तथा रेनिश फागोले रंग संयोजन गरेको चलचित्र असार २९ गतेदेखि प्रदर्शन हुँदैछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 